काठमाडौं, ५ असोज । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्था मर्ज भएर एकिकृत कारोबार सुरु भए लगत्तै सेयर कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । बोर्डले बुधबार सूचिकृत कम्पनीहरुलाई मर्जपछिको एकिकृत कारोबार लगत्तै सेयर कारोबारको व्यवस्था गर्न निर्देशन दिएको हो ।
हाल एकिकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकको स्विकृतिमा मात्रै सेयर कारोबार खुल्ला गर्न पाउने व्यवस्था रहेको छ । केन्द्रिय बैंकले एक हप्तादेखि एक बर्षसम्ममा सेयर कारोबारका लागि अनुमति दिँदै आएको छ । प्रभु बैंकले मर्जपछि एकिकृत कारोबार थालेको एक वर्ष पुग्नै लागेपनि केन्द्रिय बैंकले सेयर कारोबारका लागि अनुमति र्दिएको छैन् ।
त्यस्तै, बोर्डले मर्जर तोडिएको १५ दिनभित्रै सेयर कारोबार खुल्ला गर्ने व्यवस्था मिलाउन पनि सूचिकृत बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । हाल कुमारी र एनसीसी बैंक सम्मिलित मेगा मर्ज तोडिएपछि यी संस्थाको सेयर कारोबार बन्द रहेको छ ।
बोर्डले आफ्नो निर्देशनमा भनेको छ–‘सूचीकृत कम्पनीहरुको गाभ्ने/गाभिने कार्य सम्पन्न भई एकीकृत कारोबार शुरु भएसंगै शेयर कारोबार शुरु गर्ने व्यवस्था गर्ने र सो हुन नसकेमा वढीमा १५(पन्ध्र) दिन भित्र अनिवार्य रुपमा कारोबार हुने व्यवस्था गर्ने ।’
बोर्डको निर्देशनले नेपाल राष्ट्र बैंकको निर्णय प्रक्रियालाई छिटो र सहज बनाउन दबाव दिएको छ । हाल केन्द्रिय बैंकले मर्जपछिको एकिकृत कारोबार र मर्ज तोडिएका संस्थाहरुको सेयर कारोबार खुलाउन तजबिजमा निर्णय गर्दै आएको छ ।
ठोस मापदण्ड बिनै केन्द्रिय बैंकले कुनै संस्थालाई एक हप्तामै सेयर कारोबारको अनुमति दिने गरेको छ भने कुनैले बर्षदिन बित्दा समेत सेयर कारोबार खुलाउन अनुमति पाउने गरेका छैनन् । बोर्डको यो निर्देशनले लगानीको हित हुने देखिन्छ ।