काठमाडौं, ४ असोज । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७३/७४ को दुई महिनामा ८० अर्ब ४७ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा असुली भएको राजस्व लक्ष्यको तुलनामा ७ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको यस अवधिमा ७५ अर्ब ३६ करोड ५ लाख राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । गत आवको तुलनामा यस वर्ष अर्थतन्त्र चलायमान हुनाका साथै आर्थिक गतिविधि बढेकोले राजस्व संकलन राम्रो भएको मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मण अर्यालले जानकारी दिए ।
चालू आवमा संकलित राजस्वमध्ये ७५ अर्ब ५० करोड ४० लाख रुपैयाँ कर राजस्व हो भने ४ अर्ब ९७ करोड ६ लाख रुपैयाँ गैर कर राजस्व हो । सरकारले चालूको दुई महिनामा ७० अर्ब ३८ करोड २९ लाख रुपैयाँ कर राजस्वको लक्ष्य तोकेको थियो भने ४ अर्ब ९७ करोड ७७ लाख गैर करको लक्ष्य निर्धारण गरेको छ । अहिलको अवस्था अनुसारमात्रै पनि राजस्व उठ्ने हो भने पनि यस वर्ष लक्ष्यभन्दा करिब २५ प्रतिशत राजस्व बढी असुल हुने मन्त्रालयको हिसाव छ ।
मन्त्रालयले चालू आवमा संकलन गरेको राजस्व गत आर्थिक वर्ष २०७२/७३ को तुलनामा ४२ प्रतिशतले बढी हो । गत आवको साउन र भदौमा सरकारले ५३ अर्ब ७ करोड ९४ लाख राजस्व संकलन गरेको थियो । २०७१/७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्प तथा ६ महीना लामो तराई–मधेश बन्दाका कारणले सीमा नाकामा भएको अवरोध लगायतका कारण अर्थ तन्त्रमा सुस्ताएको थियो । अर्थतन्त्र शिथिल र आर्थिक गतिविधिहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको कारणले राजस्व संकलन कम भएको मन्त्रालयको भनाइ छ ।
गत आवमा भएका उद्योगहरु पनि अधिकांश बन्द भएको र सञ्चालितमध्ये पनि केही पूर्ण क्षमतामा चल्न सकेका थिएनन् । सो कारण राजस्व संकलनका आन्तरिक तथा वाह्य स्रोत दुबै गुम्दा सरकारले पहिलो २ महीनासम्म रू.५३ अर्बमात्र राजस्व संकलन गरेको थियो । चालू आवमा भने यी सबै परिस्थितिमा सुधार आएकाले सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।
सरकारले चालू आवमा ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रोखेको छ । गत आवमा ४ खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।