काठमाडौं, ३ असोज । जीवन बीमा कम्पनीहरुले गत आव २०७२÷७३ मा विभिन्न क्षेत्रगत तथा संस्थागत रुपमा ९३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छन् । ८ ओटा जीवन बीमा कम्पनीले गरेको क्षेत्रगत लगानीमध्ये अनिवार्य लगानीमा ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी भएको भने स्वेच्छिक लगानीमा ९ अर्ब ३९ करोड रुपैयाँ लगानी भएको बीमा समितिले जानकारी दिएको छ ।
सबैभन्दा बढी लगानी नेपाल लाइफ इन्स्योरेन्स गरेको छ । यो कम्पनीले गत असारमसान्तसम्ममा विभिन्न क्षेत्रमा २८ अर्ब २२ करोड लगानी गरेको छ । राष्ट्रिय बीमा संस्थानले कुनै पनि क्षेत्रमा लगानी गरेको तथ्याङ्क देखिदैन । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २३ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको तथ्याङ्क छ । नेशलन लाइफ इन्स्योरेन्सको क्षेत्रगत लगानी १४ अर्ब १३ करोड रहेको छ ।
एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्सले दुबै क्षेत्रमा लगानी गरेका छन् । मेट लाइफ इन्स्योरेन्सले स्वेच्छिक लगानी देखिदैन ।
गत आवमा जीवन बीमा कम्पनीहरुले अनिवार्य लगानीतर्फ सबैभन्दा बढी लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा भएको छ । ती कम्पनीहरुले वाणिज्य बैकको मुद्दती निक्षेपमा ७७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको समिति सुपरिविक्षेण तथा अनुगमन महाशाखाका निर्देशक राजुरमण पौडेलले बताए । सो अनिवार्य लगानीमा नेशनल लाइफ इन्स्योरेन्सले २५ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले २० अर्ब १५ करोड लागनी गरेका छन् ।
बीमा कम्पनीहरुको ३ अर्ब ९१ करोड लगानी नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा गरेका छन् भने ३ अर्ब ६ करोड रुपैयाँ विकास बैंकको निक्षेपमा भएको समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ । नागरिक लगानीमा जीवन बीमा कम्पनीको लागनी ४३ करोड रुपैयाँ रहेको छ ।
जीवन बीमा कम्पनीहरुले स्वेच्छिक लगानीमा थोरैमात्र लगानी गरेका छन् । नेशलन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स गरी ८ ओटा कम्पनीले ९ अर्ब २५ करोड रुपैयाँको स्वेच्छिक लगानी गरेका छन् ।
स्वेच्छिक लगानीका विभिन्न शीर्षकहरुमध्ये उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रमा प्राइम लाइफले मात्र १२ करोड लगानी गरेको छ भने अन्य कुनै पनि कम्पनीले यसमा लगानी गरेका छैनन् । कम्पनीहरुले ४ अर्ब ४१ करोड अन्य पब्लिक लिमिटेडको साधारण सेयरमा लगानी गरेका छन् । सो अवधिमा ३ अर्ब ७० करोड रुपैयाँ वाणिज्य बैंकको शेयर लगानीमा भएको छ । १ अर्ब रुपैयाँ वित्त कम्पनीहरुको मुद्दती निक्षेप लगानी भएको छ । बीमा कम्पनीहरूसँग दीर्घकालिन प्रकृतिकाे काेष भएपनि लगानी भने अल्पकालिन छ ।