१० लाख रुपैयाँमा कम्पनीको ब्राण्ड एम्बेसडर बन्छुः राजेश हमाल

<p>हालसम्म कतिवटा कम्पनीको ब्राण्ड एम्बेसडर बन्नुभयो होला ? ठ्याक्कै यति वटा कम्पनीको ब्राण्ड एम्बेसडर बनिसकेँ भन्ने याद छैन । मैले संख्या गणना गरेर राख्ने गरेको पनि छैन । तर चलचित्रमा काम सुरु गर्दादेखि नै ब्राण्ड एम्बेसडर बन्न थालेको हुँ । मलाई याद भएसम्म मैले पहिलो पटक भने साबुनको विज्ञापनमा खेलेको थिएँ । अहिलेसम्म कति समय [&hellip;]</p>

हालसम्म कतिवटा कम्पनीको ब्राण्ड एम्बेसडर बन्नुभयो होला ?
ठ्याक्कै यति वटा कम्पनीको ब्राण्ड एम्बेसडर बनिसकेँ भन्ने याद छैन । मैले संख्या गणना गरेर राख्ने गरेको पनि छैन । तर चलचित्रमा काम सुरु गर्दादेखि नै ब्राण्ड एम्बेसडर बन्न थालेको हुँ । मलाई याद भएसम्म मैले पहिलो पटक भने साबुनको विज्ञापनमा खेलेको थिएँ ।
अहिलेसम्म कति समय दिनुभयो होला कर्पाेरेट क्षेत्रलाई ?
मुलभूत समय चलचित्र क्षेत्रकै लागि दिएको छु । त्यसपछि केहि समय कर्पाेरेट क्षेत्रले पाएको छ । मैले विज्ञापनमा मात्रै होइन सामाजिक अभियानलाई पनि समय दिएको छु । गृह मन्त्रालयको लागु औषध दुव्र्यसनी विरुद्धको अभियानदेखि डब्लुडब्लुएफको बन्य जन्तु जोगाउने अभियान होस् वा अन्य महत्वपूर्ण सामाजिक अभियानका लागि पनि मैले समय दिएको छु र मेहनत पनि गरेको छ ।
कर्पाेरेट सेक्टरका लागि पनि एकदेखि दुई बर्षको सम्झौता गर्छु ।
दुई बर्षपछि निरन्तरता दिनुहुन्न ?
यो नितान्त व्यवसायिक पक्ष भएकाले कम्पनीसँगको सम्बन्ध र आवश्यकतालाई हेरेर सम्झौता नविकरण गर्छु ।
सबै भन्दा लामो समय दिएको ब्राण्ड कुन हो ?rajesh
नेपाः टप कम्पनीलाई सबै भन्दा धेरै समय दिएको छु । यो कम्पनीसँग म लामो समयदेखि जोडिँदै आएको छु । नेपाः टप सब ठिकठाक कम्पनीसँगको एग्रिमेन्ट पुरानो हो र त्यो अझै कायमै छ । कहिले काँही भने केहि प्रडक्टहरुले मेरा लागि दर्शकसँग नजिकिने अवसर पनि दिएका छन् । सन २००४ मा टुपिएम चाउचाउको अभियान थियो । स्क्र्याच गरेर पैसा पाउने व्यवस्था थियो । जो जसलाई पुरस्कार पर्ने हो तिनै गाउँघरमा पुगेर पुरस्कृत गर्नुपर्ने व्यवस्था थियो । त्यसक्रममा म देशभर घुमेको थिए । जुम्ला, हुम्ला पुगेर दर्शकलाई पुरस्कृत गरेको थिएँ । रमपमले पनि यस्तै योजना ल्याएको थियो । मुलुक द्धन्द्धमा फसेका बेला पनि म कलाकारका रुपमा देशभर घुम्न पाएँ । कसैले पनि रोकतोक गरेनन् । राजनीतिले फुटाएको समाजलाई कलाकारिताले जोड्ने रहेछ भन्ने अनुभव पनि त्यसैबेला गर्न पाएको थिए ।
कुन ब्राण्डको एम्बेसडर बन्ने र कुन ब्राण्डको नबन्ने भन्ने छनौट कसरी गर्नुहुन्छ ?
ब्राण्डको छवि र गुणस्तरमा ध्यान दिन्छु । मैले आफ्नो छवि खराब गरेँ भने पनि ब्राण्डलाई असर गर्छ । ब्राण्डले खराब काम गर्यो भने पनि मेरो छवि बिगार्छ । त्यसकारण ब्राण्ड छान्दा बिशेष ध्यान दिन्छु । सम्झौता गर्ने बेलामै सर्तहरु स्पष्ट पार्ने गरेको छु ।
सम्झौता अनुसार नभएर समस्या परेका उदाहरण छन् ?
ब्राण्डको गुणस्तरमै समस्या त आएको भेटिएको छैन् तर एक पटक पब्लिकमा मैले काम गरेको ब्राण्ड माथि प्रश्न उठेको थियो । गुणस्तरमा म निश्चिन्त थिएँ तर पब्लिकममा गलत सन्देश गएको थियो । कम्पनीको नाम लिनु त्यति उपयुक्त नहोला । तर ब्राण्डका कारण केही समस्या भने आएको थियो ।
जुन बस्तुको ब्राण्ड एम्बेसडर बन्नुहुन्छ, त्यसको प्रयोग गर्नुहुन्छ ?
अधिकांश ब्राण्डका उत्पादनको आफैँ पनि प्रयोग गर्छु । सामान्यतया म चुरोट र रक्सीको विज्ञापनमा खेल्दिन । आफूले प्रमोशन गरेका उत्पादन प्रयोग गर्छु नै । धेरै पहिले चौधरी समुहको साहसी चुरोट र बियरको ब्राण्ड एम्बेसडर बनेको थियो । त्यसपछि रक्सी र चुरोटको विज्ञापनमा खेलिँन । म जुन जुन उत्पादनको विज्ञापनमा खेल्छु ती सामान मैले आफैं पनि प्रयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो । मैले राग पानको विज्ञापनमा काम गरेँ । त्यसमा टोबाको छैन भन्ने पुष्टि भएपछि मात्रै काम गरेको थिएँ ।
चलचित्रमा नायकहरुले काम गर्ने टिम रोज्छन, कर्पाेरेट सेक्टरको काममा चाँँही के हुन्छ ?
विज्ञापनमा चाँही उत्पादक वा वितरक कम्पनीले भन्दा पनि विज्ञापन बनाउने कम्पनीले काम गर्नेहरुको छनौट गर्छ । कम्पनीको छबि अनुसार विज्ञापनका लागि पात्र छनौट गर्ने हो । त्यसका लागि सहयोगी टिम पनि त्यसकै आधारमा चयन हुन्छ । मैले खासै यस्तो व्यक्ति ल्याउनुस भनेर भन्ने गरेको छैन् ।
एनएमबी बैंकको टिभिसीमा हामी त औठा छाप भनिएको छ, आजको दुनियाँमा त्यसले समाजको चित्रण गर्छ ?
नेपालमा अझै पनि औठा छाप मात्रै प्रयोग गर्न सक्ने ठुलो समुदाय छ । हामी शिक्षा र विकासमा धेरै अघि बढिसकेका छैनौं । अघि बढ्ने प्रयास जारी छ । अर्काे कुरा भनेको औठा छाप भन्ने शब्द राखेर आम नेपाली मनोविज्ञानलाई समेट्न खोजिएको पनि हो ।
तपाईँले एनएमबी बैंकमा खाता खोल्नु भयो ?
अहिलेसम्म छैन । अब खोल्छु । आफुले ब्राण्ड एम्बेसडर भएर काम गरेको बैंकमा खाता त खोल्नै पर्यो नि । दुई बर्षको सम्झौता गरेको हुँ एनएमबीसँग ।
एउटै प्रकृतिका दुई ब्राण्डसँग एकै पटक काम गर्नु भएको छ ?
म त्यस्तो गर्दिनँ । एउटा चाउ चाउको काम गरेपछि सोही अवधीमा अर्काे चाउचाउ कम्पनीमा काम गर्दिनँ । पहिलो पटक बैंकको काम एनएमबीसँग गर्दैछु । यहि अवधीमा अर्काे बैंकको काम गर्दिनँ । एकै पटक एकै प्रकारका बस्तु तथा सेवाको प्रमोशनमा काम गर्दिन् ।
अहिले कति वटा कर्पाेरेट हाउमा काम गरिरहनु भएको छ ?
म अहिले नेपाः टप, डाबर च्यावनप्रास, लाइफब्याय साबन र अहिले एनएमबी बैंकको काम गरिरहेको छु । rajesh-1
राजेश हमाललाई कम्पनीका लागि अफर गर्दा रेट कति छ ?
मैले पैसाको रेट भन्दा पनि कम्पनीको भ्याल्यु र रेपुटेशन हेर्ने गरेको छु । कम्पनीको कमर्सियल भ्याल्यु हेर्छु । कमर्सियल इन्ट्रेस्ट भएका कम्पनीमा अलि बढि माग गरिन्छ । सामाजिक उत्तरदायित्वको काममा अलि कम । कतिपयमा निशुल्क काम पनि गरिन्छ ।
सबै भन्दा धेरै फि लिएको कम्पनी कुन हो ?
साधारणतया ८ देखि ११ लाख रुपैंयाँमा काम गर्ने गरेको छु ।
एनएमबीमा कतिमा काम गर्नुभयो ?
मैले भने नि । साधारणतया ८ देखि ११ लाख  रुपैयाँ लिन्छु । एनएमबीसँग पनि यसैको हाराहारीमा रहेछ भनेर मान्नुस् ।
डाबर च्यावनप्रासमा तपाई धेरै देखिनुहुन्छ, सबै भन्दा बढि रकम त त्यसबाटै लिनुहुन्छ होला ?
डाबर नेपाल भनेको मल्टिनेशनल कम्पनी हो । त्यसको कमर्सियल भ्याल्यु धेरै छ । नेपाली कम्पनी हो भने त्यसै अनुसार हुने हो । मल्टिनेशनल कम्पनीले त्यसै अनुसार अफर गर्छ । कमर्शियल फिल्म बनाएर देश बिदेशमा देखाउने भनियो भने अलि बढि पैसा लिइन्छ । कला संस्कृतिको जगेर्ना गर्ने हो भन्यो भने त्यसै अनुसार काम गर्ने हो । डब्लुडब्लुएफको काम निःशुल्क गरेको थिएँ ।
राजेश हमालको नाममा प्यान दर्ता छ ?
हामीलाई प्यान लिनु पर्ने व्यवस्था गरिएको छ । तर मैले प्यान लिएको छैन । मैले श्रोतबाटै कर कट्टा गर्ने गरेको छु । हाम्रो आम्दानी मासिक रुपमा हुने होइन । त्यसकारण प्यान नलिएको हुँ । कारोबार गर्दा श्रोतबाट नै कति कर तिर्नु पर्ने हो त्यो कटाउने गरेको छु ।
सबै भन्दा धेरै कर तिर्ने हिरोमा राजेश हमाल पर्छ ?
म सबै भन्दा धेरै कर तिर्ने हिरोमा पर्दिन । हाम्रो कमाई भनेको स्यंवसेवी जस्तै हो । महिनामा यति कमाई हुन्छ भन्ने एकिनै हुँदैन ।
आफ्नो कुल आम्दानीमा ब्राण्ड एम्बेसडरको हिस्सा कति छ ?
मुल आम्दानी चलचित्रबाटै हो । ब्राण्ड एम्बेसडरबाट खासै आम्दानी छैन । जसरी सुरुमा चलचित्रमा कमाई थिएन, त्यसैगरी अहिलेसम्म ब्राण्ड एम्बेसडरमा पनि खासै पैसा छैन् । सुरुमा मलाई पत्रकारले तपाई चलचित्र खेल्नु हुन्छ, खास काम चाँही के गर्नुहुन्छ ?  भन्थे ।
सेयरमा लगानी गर्नु भएको छ ?
छैन
तपाईको लगानी के केमा छ ?
मैले आफ्नो आम्दानी बैंकमा डिपोजिट गर्ने गरेको छु । अन्त कतै लगानी गरेको छैन । नवलपरासीमा केहि पुर्खाैली जमिन छ । त्यसमा खेतिपाती भैरहेको छ ।
रेगुलर खर्च चाँही कति हुन्छ ?
मेरो खर्च त्यति धेरै छैन । साधारण खर्च मात्रै हो ।
तपाई कुन गाडी चढ्नु हुन्छ ?
म किया स्पोर्टी चढ्छु । पछिल्लो दश बर्षदेखि यही गाडी चढिरहेको छु ।
महानायकले १० बर्षदेखि एउटै गाडी चढ्ने ?
म अर्काे गाडी किन चढौं ? म आफ्नो जीवनको मापदण्ड आफैं बनाउँछु । नयाँ गाडी किन्दा अहिलेको गाडीले भन्दा के बढि फाइदा दिन्छ भनेर हेर्छु । मेरो गाडी दैनिक जम्मा ५ देखि १० किलोमिटर मात्रै गुडछ् । अनि किन अर्काे गाडी किन्नु ?

Share News