काठमाडौं, २५ भदौ । युनाइटेड टेलिकम लिमिटेड (युटिएलले) तीन वर्षभित्र देशैभरी जिएसएम मोबाइल सेवा पुर्याउने लक्षसहितको कार्ययोजना नेपाल दूरसंचार प्राधिकरणमा बुझाएको छ ।
युटिएलले शुक्रबार दूरसञ्चार सेवाको एकीकृत अनुमति–पत्र (युनिफाइड लाइसेन्स) लिएपछि प्राधिकरणमा यो प्रस्ताव पेश गरेको हो । कम्पनीले गत शुक्रवार रोयल्टी वापत सरकारलाई २० करोड ४१ लाख ८७ हजार आठसय रुपैयाँ कर तिरेर युनिफाइड लाईसेन्स लिएको थियो।

युनिफाइड लाइसेन्स लिएपछि जिएसएम प्रविधिबाट एनसेल र नेपाल टेलिकमले जस्तो मोवाइल सेवा विस्तार गर्नका लागि युटिएललाई बाटो खुलेको छ। युनिफाइड लाइसेन्स लिएसँगै कम्पनीले देशैभर जीएमएस, सीडीएमए, पीएसटीएन, इन्टरनेशनल ट्रंक टेलिफोन सेवा दिन पाउनेछ ।
युटिएलले लाइसेन्स प्राप्त गरेको १२ महिनाभित्र ४० जिल्लामा सेवा विस्तार गर्ने प्रस्ताव पेश गरेको छ। प्रस्तावमा कम्पनीले २४ महिनाभित्र देशका ५४ जिल्लामा जिएसएम सेवा पुर्याउने र भने ३६ महिनाभित्र देशैभरी जिएसएम टुजी सेवा पुर्याउने उल्लेख छ।
यस अघि युटिएलले सिडिएमए प्रविधिबाट लिमिटेड मोविलिटी सेवा प्रदान गर्दै आएको थियो। दुरसञ्चार प्राधिकरणले २०६९ चैत ३० गते एकीकृत लाइसेन्ससहित यूटीएललाई ९ सय मेगाहर्जमा फ्रिक्वेन्सी दिने निणर्य समेत गरेको थियो । युटिएल र स्मार्टलाई एकैपटक लाइसेन्स दिने निणर्य गरेकोमा स्मार्टले लाइसेन्स लिइसकेको छ ।
हाल युटिएलले नेपालका ४० जिल्लाका करिब १ सय १० सहरमा ‘लिमिटेड मोबिलिटी’ प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ । यूटीएललाई एकीकृत लाइसेन्स दिने विषयमा सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो। त्यस्तै समयमा बक्यौता रकम नतिरेको र रोल आउट प्लान समयमा नबुझाएका कारण पनि उसको युनिफाइड लाइसेन्स रोकिएको थियो।