काठमाडौं, २४ भदौ । फष्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चुक्ता पूँजी २३ करोडबाट वृद्धि गरि ६८ करोड रुपैयाँ पुर्याउने योजना नेपाल राष्ट्र बैंकमा बुझाएको छ । भदौ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई दुई आर्थिक वर्षमा कुल ३० प्रतिशत बोनस सेयर दिने र १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार बैंकले पुँजी वृद्धि योजना राष्ट्र बैंकमा बुझाएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस जारी गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी २३ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनश पश्चात बैंकको चुक्ता पूँजी २६ करोड ४५ लाख रुपैयाँ पुग्ने छ । बोनस सेयर वितरण पछि बैंकले २ बराबर १ हकप्रद जारी गरी चालु वर्षमै बैंकको चुक्ता पूँजी ३९ करोड ६९ लाख रुपैयाँ पुर्याउने भएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनमा आफ्नो पूँजी वृद्धि योजना बुझाएको हो । राष्ट्र बैंकले यहि भदौ मसान्तभित्र लघुवित्त वित्तीय संस्थाहरुलाई वृद्धि पूँजी योजना बुझाउन निर्देशन दिएको थियो । बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट मुनाफाबाट १५ प्रतिशत वोनस शेयर वितरण गरि पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ पुर्याउने भएको छ ।
त्यसैगरी बैंकले आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्ममा २ बराबर १ का दरले हकप्रद सेयर निष्काशन गरी ६८ करोड ४३ लाख ९४ हजार पु¥याइने जनाएको छ । नेपाल राष्ट्र बैंकले होलसेल बैंकिङ गर्ने माइक्रो फाइनान्सहरुको चुक्ता पुँजी २०७५ असार मसान्तसम्ममा कम्तिमा ६० करोड रुपैयाँ बनाउनु पर्ने व्यवस्था गत असारमा जारी गरेको मौद्रिक नीतिमा गरेको छ ।