काठमाडौं, २४ भदौ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक जलवायु परिवर्तन सम्बन्धि सर्वेक्षण शुरु गरेको छ । देशको ७ हजार घरपरिवारमा गएर गर्न लागिएको सर्वेक्षणले नेपालको जलवायु परिवर्तनले नेपालमा पारेको असरका वारेमा विशेष अध्ययन तथा अनुसन्धान गरिने विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले जानकारी दिए ।
विश्वव्यापी रुपमा जलवायु परिवर्तनका विषयमा धेरै चर्चा परिचर्चा भएपनि नेपालमा भने खासै वहसको विषय बन्न सकेको छैन । नेपालमा हाल जलवायुको अवस्था कस्तो छ, यसको पहिचान भएपछिमात्र पछिल्ला दिनमा यसबाट परेको प्रभाव बुझ्न सकिने उनले बताए । सर्वेक्षणले हिमाल, पहाड तथा तराई तथा सङ्घीय संरचना अनुसारका सबै प्रान्तलाई समेट्ने छ ।
विभिन्न कलेज तथा संघ संस्थाबाट यस्तो खालको प्रतिवेदनको मागको र नीति निर्माण गर्न पनि सजिलो होस भनी विभागले जलवायु परिवर्तन सम्बन्धि सर्वेक्षण शुरु गरको हो । ‘सर्वेक्षण बेञ्च मार्क’ को रुपमा स्थापित हुनेछ,’ सुवालले भने ‘नेपालका लागि यो नौलो र नयाँ सर्वेक्षण हो । जलवायु परिवर्तनको असर तथा अवस्थाका वारेमा ८० ओटा प्रश्नहरु सर्वेक्षणमा समावेश गरिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमाससम्म सर्वेक्षण सकिने र त्यसपछि तथ्याङ्क प्रशोधन गरी दोस्रो चौमास(फागुन)सम्म प्रारम्भिक नतिजा आउने सुवालले बताए ।
त्यसै गरी विभागले आगामी ५ वर्ष अर्थात २०७८ को राष्ट्रिय जनगणनाको तयारी पनि शुरु गरेको छ । विभागले योजनावद्ध हिसावबाट आफ्ना कार्यक्रमलाई अघि बढाउन अर्को गणनाको तयारी शुरु गरेको हो । जनगणनाको लागि सङ्घीयताको आधारमा गणना क्षेत्र छुट्याउने, गणकको आधारहरु तयार पार्ने तथा प्रश्नावलीको ड्राफ गर्ने लगायतका कार्यहरु यसै आवबाट शुरु हुने उपमहानिर्देशक सुवालले जानकारी दिए । अबको गणना सङ्घीयताका आधारमा हुने भएकोले प्रश्नावली तयार पार्दा समन्यायिक ढंगबाट तयार पार्नुपर्ने हुन्छ’ सुवालले भने ‘सबै क्षेत्र अथवा प्रान्तका आधारमा गणना गरिन्छ ।’