काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुस्पकमल दाहालले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्मको प्याकेज दिने बताएका छन् । ब्यवस्थापिका संसदमा सम्बोधन गर्दे प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले अनुदान स्वरुप २ लाख रुपैयाँ दिने सरकारको पुरानो निर्णयमा १ लाख रुपैयाँ थप गरी ३ लाख रुपैयाँ पुर्याउने जानकारी दिए । यस्तै सामुहिक जमानीमा थप ३ लाख रुपैयाँसम्म निब्र्याजी ऋण उपब्ध गराउने प्रधानमन्त्रीको भनाइ छ ।
३ लाख रुपैयाँ अनुदान र ३ लाख रुपैयाँ सामुहिक जमानीमा ऋण दिदा भूकम्प पीडितले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी २ लाख रुपैयाँ सहुलियत ब्याजदरमा परियोजना धितो राखेर स्वरोजगार कार्यक्रमको लागि ऋण दिने प्रधानमन्त्रीको भनाइ छ ।
उनले भूकम्प पछिको पुननिर्माणको गति सुस्त भएको भन्दै गति बढाउन आवश्यक रहेको पनि बताए । तर प्रधानमन्त्रीले पीडितलाई १ लाख रुपैयाँ थप अनुदान दिनको लागि स्रोतको अभाव भएको अर्थमन्त्रालय स्रोतको भनाइ छ ।
‘प्रतिपरिवार १ लाख रुपैयाँका दरले अनुदान थप गर्दा थप ७० अर्ब रुपैयाँ चाहिन्छ, यस्तो रकमको स्रोत ब्यवस्था कहाँवाट कसरी गर्ने भन्ने टुंगो छैन, तनाब भइरहेको छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भने ।