काठमाडौं, २० भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजसँग सोमबार भएको भेटमा संविधानको सर्वस्वीकार्यताका लागि आफूले पहल गरिरहेको जानकारी गराएका छन् ।
आफ्नो निवास बूढानीलकण्ठमा सोमबार भएको भेटमा उनले संविधानले निर्दिष्ट गरेको समयसीमाभित्रै सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन गराउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । संविधान जारी भइसकेपछि मुलुकलाई समृद्ध र आर्थिक रुपले समुन्नत बनाउन विदेशी लगानी अपरिहार्य रहेकाले यसतर्फ पहल गरिने बताएका काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सो अवसरमा राजदूत टेप्लिजले मुलुकको सबैभन्दा ठूलो दलका सभापति र पूर्वप्रधानमन्त्रीको समेत अनुभव भएकाले संविधान कार्यान्वयन, अन्य राजनीतिक दलसँगको सहमति लगायत विषयमा नेता देउवाको महत्वपूर्ण एवम् नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गरेका थिए । राजदूतले संविधानको उचित कार्यान्वयन तथा नेपालको आर्थिक उन्नति, प्रगति एवम् समृद्धिका लागि अमेरिका हरेक प्रकारको सहयोग उपलब्ध गराउन तत्पर रहेको बताए । रासस