काठमाडौं १८, भदौ । नेपालमा अन्तरराष्ट्रिय वायुसेवाको उडान प्रतिस्पर्धा बढेको छ । नेपालमा उडान गर्ने विदेशी वायुसेवा एक आपसमा नै उडानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालको राष्ट्रिय ध्वजाबाहक बलियो नभएको र नेपाली वायुसेवा पनि अन्तर्राष्ट्रिय गनव्यमा आक्रामक रुपमा जान नसकेका कारण विदेशी वायुसेवाको नेपालमा हालिमुहाली भएको नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकरको बुझाई छ
।
वैदेशिक रोजगारीमा जाने नेपाली बढ्दै जानु र विदेशी पर्यटकसमेत बर्षेनी बढ्नुले अन्तरराष्ट्रिय वायुसेवाको उडान थप्दै गएका हुन । नेपालमा अहिले विभिन्न देशका २९ वटा वायुसेवाले नियमति उडान गरिरहेका छन् ।
विदेशी वायुसेवाको नेपाल उडानमा देखिएको सम्भावनाकै कारण नेपाल आएर फिर्ता जाने भन्दा पनि उडान गर्नेकै वाहुल्यता रहेको छ । अघिल्लो वर्षको भूकम्पपछि फिर्ता गएका वायुसेवा एक पछि अर्को गर्दे अहिले सबैले नेपालमा उडान सुरु गरिसकेका छन् ।
चिनियाँ वायुसेवा कम्पनी चाइना इस्टर्नले भूकम्प र नाकाबन्दीपछि नेपाल उडान बन्दै गरेको थियो । तीन महिना अगाडिबाट सातामा दुईवटा उडान सुरु गरेको यो वायुसेवाले एक साताअघि मात्रै नेपालमा दैनिक उडान सुचारु गरिसकेको छ ।
नेपालमा आउने वायुसेवाको संख्या हरेक वर्ष थपिँदै जाने गरेको छ । हाम्रो विमानस्थलको क्षमताले नै नभ्याएका कारण हामीले नियन्त्रण गर्नुपर्ने अवस्था रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।
पछिल्लो एक अवधिमा वायुसेवाको विस्तार यात्रु सङ्ख्यामा भएको बृद्धिलाई सकारात्मक रूपमा हेरिएकोले पनि नेपालको हवाइ उड्डयन सुधारोन्मुख देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । पछिल्लो एक वर्षको अवधिमा नेपाल उडानमा रहेका वायुसेवाले ३२ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएका छन् ।
सबै अन्तरराष्ट्रिय उडानको जहाजका लागि सरकारले हाल वार्षिक ७२ लाख सिट क्षमता उपलब्ध गराएको भएपनि करीब ३२ लाख मात्र उपयोगमा आउन सकेको छ । वायुसेवा कम्पनीले क्षमता अनुसार उडान नगरेका तथा दुई देश बीचमा हुने उडान अनुमतिले पूरै कार्यान्वयन नुहनाले पनि सो सिट क्षमताको पूर्ण उपयोग नभएको प्राधिकराणको भनाइ छ ।
३८ देशसँग हवाई सम्झौता १५ देशको मात्रै उडान
नेपालले द्विपक्षिय हवाई सेवा सम्झौता हालसम्म ३८ ओटा देशसँग गरेको भएपनि नेपालमा जम्मा जहाज उडान भएका मुलुकको सङ्ख्या भने १५ ओटा मात्र रहेको छ । नेपालमा भारतबाट पाँचओटा, युएइबाट चार, चीनबाट तीनओटा, मलेसीयाबाट तीनओटा वायुसेवा कम्पनीले उडान गरिरहेका भएपनि ती जहाजमार्फत पूर्ण मात्रामा सिट क्षमताको भने उपयोग हुन सकेको छैन् ।
कतार, ड्रागन, ओमान, थाइ, गल्फ, इत्तेहादलगायतका वायुसेवा कम्पनीले दैनिक एक देखि ४ ओटासम्म उडान गर्ने गरेका छन् । यी सबै वायुसेवाले पनि नेपालका लागि पूरा क्षमतामा उडान गर्न भने सकेका छैनन् ।
नेपालमा उडान गरिरहेका अन्तरराष्ट्रिय वायुसेवा कम्पनी मध्ये केहीले यात्रु चाप बढ्दै गएको यस वर्षको पर्यटकीय सिजन अक्टोबर तथा नोभेम्वरको समय पारेर केही उडान थप गर्ने गरेका पनि छन् ।
नेपालबाट हाल नियमति अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा हिमालय एयरलाइन्स मात्रै हो । नेपालमा उडान संभावना रहेको भन्दै वीबी एयरले उडान सुरु गरेपनि निरन्तरता पाउँन सकेन । अहिले सिम्रिक एयरले कार्गो अन्तराष्ट्रि र श्री एयरले यात्रु उडानमै अन्तर्राष्ट्रिय गर्ने तयारी गरिरहेको छ । बुद्धले चार्टर उडान मात्रै अन्तर्राष्ट्रिय गरिरहेको छ ।
ठूलो जहाज ल्याएर अन्तर्राष्ट्रिय गर्ने निगमको योजना
नेपालप्रति विदेशी हवाई कम्पनीको चासो बढ्दै गएको र विस्तार हुँदै गरेको हवाई बजारका कारण नेपालमा उडान अनुमति चाहने अन्तरराष्ट्रिय विमान कम्पनी बढिरहेको पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको भनाइ छ । नेपालकै वायुसेवा वायुसेवा निगमले पनि अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गरिरहेको छ । ठूलो जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्न योजनालाई पनि अगाडि सारेको छ ।
पर्यटन मन्त्रालयका अनुसार नेपालमा पाँचौ ट्राफिक स्वतन्त्रताको अधिकार पाउने हो भने अन्तर्राष्ट्रिय वायुसेवाको वाढी नै लाग्छ । सो अधिकारको प्रयोग गरेर नेपालमा उडान गर्न चाहने वायुसेवा कम्पनी एयर अरेवियाले यस अघि नै मागेको थियो । यसको मागको टुङ्गो नलागेकोले थप अरु प्रक्रियो रोकिएको छ ।
यसले पाँच वर्षअगाडि नै अनुमति पाएको भएपनि नेवाल वायुसेवा निगमको नाफामूलक गन्तव्यमा उडान गर्न लागको भन्दै विरोध आएपछि सोको यस्तो उडान रोकिएको छ । यस्तो अधिकारको कार्यान्वयन हुन हो भने नेपालमा श्रीलङकन एयरलाइन्स, रसियन एयरलान्स एयरफोर्ड, टर्किस एयरलाइन्स, अष्टे«लियन तथा अमेरीकी विमानले पनि नेपाल उडान गर्ने मन्त्रालयलको दाबी छ ।
नेपालमा उडान भर्ने इच्छासहित श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र सचिवले उडान आग्रह गरिसकेका छन् भने सन् २००२ उडान भरेर बन्द गरेको एयरफोर्डले समेत पुनः उडान गर्ने चासो देखाएको छ । नेपालका हाल बंगलादेशको एक नयाँ वायुसेवाले पनि उडानको चासो देखाको छ ।
नेपालमा विदेशी वायुसेवाको सङख्या बढ्दै गएको भएपनि ती वायुसेवा पर्यटक केन्द्रीत भने हुन छैनन् । हाल उडान भरिरहेको विमान कम्पनीले पनि पर्यटक केन्द्रीत गन्व्यमा उडान गर्न सकेका छैनन् । नेपालमा युरोपेली र अमेरीकी देशबाट सीधा उडान हुने हो भने नेपालको पर्यटन व्यवसाय फस्टाउने पर्यटन व्यवसायीको भनाई छ । यसका लागि नेपालले पूर्वाधार विकास र पर्यटक आकर्षणका कार्यक्र र प्याकेज दिन आवश्यक भएको व्यवसायीले बताएका छन् ।