काठमाडौं, १७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई दिने भनेको लाभांश विवादमा परेको छ । बैंकको संचालक समितिले प्रस्ताव गरेको २४ दशमलब ४९ प्रतिशत बोनस सेयर विवादमा परेको हो ।
गत १३ भदौमा बसेको संचालक समितिले सो बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर गत आर्थिक बर्षको अन्त्यमा निस्कासन गरिएको हकप्रदलाई बोनस नदिने संचालक समितिको निर्णयको कारण विवाद उत्पन्न भएको छ ।
धितोपत्र वोर्डमा यस सम्बन्धमा एक पटक छलफल भइसकेको छ । यस्तो छलफलमा साधारणसभा प्रयोजनको लागि हुने बुकक्लोज भन्दा अगाडिका सेयरधनीले लाभांश पाउने स्थापित मान्यता विपरित बोनस सेयर घोषणाको प्रस्ताव गरिएकोले त्यस्तो प्रस्ताव स्वीकार गर्न नसकिने बोर्डका पदाधिकारीले निष्कर्ष निकालेका छन् ।
‘बुकक्लोजको मितिभन्दा अगाडि कायम रहेका सेयरधनीले लाभांश पाउछन्, अहिलेसम्मको अभ्यास र ब्यवस्था पनि यही नै हो,’ बोर्डका प्रवक्ता निरज गिरीले भने ।
बैंक संचालक समितिले भने हकप्रद सेयर निस्कासन भन्दा अगाडि कायम रहेको चुक्ता पूजीका आधारमा बोनस वितरण गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिले यो समयसम्मका सेयरधनीले लाभांश दिने र यसपछिकालाई नदिनेभन्दै मिति तोक्ने गर्ने हो भने साधारणसभा प्रयोजनको लागि बुकक्लोज गरिरहनुको औचित्य नहुने बोर्डका अधिकारीहरुको भनाइ छ ।
बैंकले १३ भदौमा संचारमाध्यमहरुलाई पठाएको प्रेस विज्ञप्तिमा ‘भदौ १३ गते बसेको संचालक समितिको २१४ औं बैठकको निर्णय बमोजिम आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’ भन्ने उल्लेख गरिएको छ ।
तर बैंकले प्रकाशित गरेको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा चुक्ता पूजीको अंक नै फरक छ । बैंकले प्रकाशित गरेको विवरणमा गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूजी ३ अर्ब ६५ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
बैंकले गत साउन ४ गतेसम्म हकप्रद सेयर भर्ने म्याद दिएको थियो । बैंकले निस्कासन गरेको मध्ये करिब ७ करोड रुपैयाँ बराबको हकप्रद विक्री नभएर लिलामी प्रक्रियावाट विक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ ।