काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई विदेशवाट अमेरिकी डलर ल्याउन स्वीकृति नदिने संकेत गरेको छ । बाणिज्य बैंकहरुले ल्याएको डलरको विनिमय दर कसरी निर्धारण गर्ने र त्यसले बजारमा अर्काे समस्या निम्तन सक्ने सम्भावना औल्याउदै राष्ट्र बैंकले स्वीकृति नदिने संकेत गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, हिमालन र नविल बैंकले सिंगापूरवाट अमेरिकी डलर कार्गाे गरेर ल्याउने तयारी गरेका थिए । बजारमा नगद डलरको अभाव भएपछि राष्ट्र बैंकको सकारात्मक संकेतमा बैंकहरुले यस्तो तयारी गरेका थिए ।
बाणिज्य बैंकहरुले ल्याएको डलरको विनियम दर निर्धारणमा समस्या हुन सक्ने देखिएकोले उनीहरुलाई स्वीकृति दिन नसकिने देखिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।
‘बैंकहरुले ल्याएको डलरको विनिमय दर कसरी निर्धारण गर्ने भन्ने समस्या देखियो, एउटा बैंकमा डलर साट्दा एउटा दर र अर्काे बैंकमा साट्दा अर्काे दर हुने सम्भावना देखिएपछि बैंकहरुलाई स्वीकृति नदिने भन्ने भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
डलरको अभाव कम गर्न राष्ट्र बैंक आफैले सिंगारपूरवाट चार्टर गरेर अमेरिकी डलर ल्याउने तयारी अगाडि बढाएको छ । ‘डलर राष्ट्र बैंकले नै ल्याउनु पर्ने बाध्यत्मक अवस्था देखियो, यसको लागि सिंगापूरवाट १ करोड डलर ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको छ,’ स्रोतले भन्यो ।
राष्ट्र बैंक आफैले डलर ल्याउनको लागि फाइल अगाडि बढेको छ । स्रोतका अनुसार सम्बन्धित विभागवाट फाइल उठेर डेपुटी गभर्नरको तहमा पुगेको छ । डेपुटी गभर्नरले फाइल सदर गरेर गभर्नरकोमा पठाएपछि सिंगापूरवाट डलर ल्याउनको लागि राष्ट्र बैंकका केही कर्मचारी सिंगापूर जाने छन् । यो कार्य आगामी साताको पहिलो वा दोस्रो दिन नै हुने र आगामी साताभित्रमै सिंगापूरबाट डलर नेपाल ल्याइसक्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।