काठमाडौं, १४ भदौ । विभिन्न वित्तिय संस्था तथा कोषहरुले ६०० मेगावाट विद्युत उत्पादन गर्न पुग्ने पैसा नेपालमै रहेको जानकारी सरकारलाई दिएका छन् । उनीहरुले बजारबाट तत्कालै ८८ अर्ब ६० करोड रुपैैयाँ लगानी गर्न आफुहरु तयार रहेको जानकारी उर्जा मन्त्रालयलाई दिएका हुन् । ती संस्थाहरुले प्रत्येक बर्ष थप ५४ अर्ब ६० करोड रुपैंया जलविद्युत क्षेत्रमा मात्रै लगानी गर्न सकिने जानकारी समेत उर्जा मन्त्री जनार्दन शर्मालाई दिएका हुन् ।
हाल कर्मचारी सञ्चय कोषसँग तत्काल ३२ अर्ब र बर्षेनी थप २० अर्ब लगानी गर्न सक्ने श्रोत रहेको छ भने नागरिक लगानी कोषले तत्काल २९ अर्ब र बर्षेनी थप १५ अर्ब रुपैंयाँ जलविद्युत क्षेत्रमा लगानी गर्न सक्ने जनाएको छ । त्यस्तै, नेपाल टेलिकमले तत्कालै १० अर्ब र बर्षेनी थप १० अर्ब जलविद्युत क्षेत्रमै लगानी गर्न सकिने जनाएको छ । त्यसबाहेक नेपाली सेनाको कोषमा १० अर्ब र नेपाल प्रहरीको कोषमा ६० करोेड रुपैंयाँ रहेको छ । सेनाले बर्षेनी थप २ अर्ब र प्रहरीले ३० करोड लगानी गर्न सक्ने जनाएको छ ।
एचआइडिसिएलले तत्कालै १० अर्ब रुपैंयाँ र बर्षेनी थप ५ अर्ब लगानी गर्न सक्ने स्पष्ट पारेको छ । राष्ट्रिय बीमा संस्थानले पनि अहिले ५ अर्ब र बर्षेनी थप २ अर्ब रकम उपलब्ध गराउने जनाएको छ । यी श्रोतहरुमा रहेको रकमलाई जलविद्युतको विकासमा फास्ट ट्रयाकबाट लगानी गर्नेबारे योजना बनिरहेको उर्जा मन्त्री जनार्दन शर्माले बताएका छन् । समाचारः अन्नपूर्णपोष्टबाट