काठमाडौं, १२ भदौ । ‘नेपाल बैंकले गत वर्ष ३ अर्ब १ करोड खुद नाफा गरेको छ । नेपालका बैंकहरुले गत आर्थिक वर्षमा कमाएको नाफामा सबैभन्दा बढी हो’ बैंकको प्रगतिबारे जानकारी दिन आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले भने–‘नेपाल बैंकको वित्तीय अवस्था राम्रो भएको छ र बैंक पूर्ण प्रतिस्पर्धी भएको छ ।’
नेपाल बैंकले आगामी आर्थिक वर्षमा पनि ३ अर्ब १ करोड वा सो भन्दा बढी खुद नाफा आर्जन गर्न सक्छ ? विकासन्युजको प्रश्नमा उनले भने–‘हाम्रो लक्ष्य र प्रयास गत वर्षको भन्दा बढी नाफा कामाउने तर्फ केन्द्रीत हुनेछ तर त्यति नै कमाउन सकिन्छ भनेर निश्चित गर्न सकिदैन’ उनले भने ।
गत वर्ष बैंकले १ अर्ब १४ करोड रुपैयाँ बराबरको सम्पत्ति बिक्री गरेको थियो । करिब ६२ करोड रुपैयाँ राईट व्याक (पुराना कर्जा असुली)बाट आर्जन भएको छ । त्यसको संचित प्रभावले बैंकको नाफा ६ गुणाले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ४८ करोड रुपैयाँ मात्र थियो ।
तर चालु आर्थिक वर्षमा त्यति धेरै नाफा हुनेमा धेरै आशंका गरिएको छ । बजेटमा सरकारी कर्मचारीको तलवमा २५ प्रतिशत वृद्धि गरिएकोले नेपाल बैंकको कर्मचारी खर्च करिब ६६ करोड रुपैयाँ वृद्धि हुने भएको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात ११ प्रतिशत नाघेकोले बैंकले थप सेयर तथा सम्पत्ति बिक्री गर्ने बैंकको योजना बनाएको छैन । बैंकको खराव कर्जा अनुपात २.७२ प्रतिशतमा झरेकोले पुराना कर्जा असुली तथा राईट व्याकबाट बैंकको नाफामा उल्लेख्य योगदान बढ्ने छैन ।
नयाँ अवसर
वित्तीय रुपमा स्वस्थ्य भएकोले अब नेपाल बैंकका लागि नयाँ अवसरको ढोका खुला भएको बैंकका प्रमुख कार्यकारी अधिकृत शाह बताउँछन् ।
राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा भएकोले बैंकले नयाँ शाखा खोल्ने, नयाँ ठाउँमा व्यवसाय विस्तार गर्ने, सहायक कम्पनीहरु खोल्ने, सेकेण्डरी मार्केटमा लगानी गर्ने, सूचना र प्रविधिमा आधारित नविनतम सेवाहरु सञ्चालन गर्ने र आम्दानी वृद्धि गर्ने ढोका खुला भएको शाहले बताए ।
शाहका अनुसार नेपाल बैंकले स्माट बैकिङका लागि पूवार्धार तयार गरेको छ र नयाँ योजना बनाएर स्वीकृतिको लागि राष्ट्र बैंक पठाईएको छ । आगामी नोभेम्बरसम्ममा बैंकले भिसा कार्ड सेवा समेत उपलब्ध गराउने छ । साझा यातायातसँगको सहकार्यमा बस यात्रुलाई ई–टिकटको व्यवस्था समेत गर्न लागिएको छ । यस्तो सेवाले बैंकको ग्राहक वृद्धि र आम्दानी वृद्धिमा उल्लेख्य सहयोग गर्ने शाहले बताए ।

सम्पत्ति व्यवस्थापन कम्पनी र सेयर बिक्री
त्यसैगरी बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने, ५१ प्रतिशत सेयर रणनीतिक साझेदारलाई दिने तयारी गरिरहेको बैंकका अध्यक्ष जनार्दन आचार्यले बताए । ‘नेपाल बैंकलाई निजीकरण गर्ने र एसेट म्यानेजमेन्ट कम्पनी खडा गर्ने वित्तीय क्षेत्र सुधार कार्यक्रमको प्रमुख लक्ष्य हुन्, त्यसमा अहिले पनि परिवर्तन भएको छैन’ सरकारको प्रतिनिधित्व गर्ने बैंकका अध्यक्ष आचार्यले भने–पहिला नेपाल बैंकको ४२ प्रतिशत सेयर थियो, अहिले ६२ प्रतिशत भएको छ । यतिबेला ६२ प्रतिशत सेयर मध्येबाट ५१ प्रतिशत सेयर बिक्री गरेर रणनीतिक साझेदार ल्याउन सरकारलाई सजिलो भएको छ ।’
‘यसअघि नै बैंकको साधारणसभाले ५१ प्रतिशत सेयर दिएर रणनीतिक साझेदार भित्र्याउने निर्णय गरिसकेको छ । त्यसलाई कार्यान्वयन गर्ने विषयमा सरकारसँग छलफल भईराखेको छ’ अध्यक्ष आचार्यले भने ।
नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी स्थर सम्पत्ति नेपाल बैंकसँग भएको तर त्यसको अधिकतम उपयोग गर्न नसकिएको निश्कर्षसहित सम्पत्ति व्यवस्थापन एकाई स्थापनाको तयारी भईरहेको उनले जानकारी दिए । ‘काठमाडौंको न्यूरोडमा १३ रोपनी जग्गा बैंकको स्वामित्वमा छ । बैंकका भवनहरु पुराना भइसकेका छन् । जग्गाको उचित सदुपयोग हुन सकेको छ । यस्तो सम्पत्ति देशका प्रमुख सहरमा धेरै छन्, त्यसको अधिकतम प्रयोग गर्दै उचित लाभ लिने हाम्रो उदेश्य हो’ उनले भने ।
२३ प्रतिशत हकप्रद सेयर
हाल बैंकको सेयर पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ । २३.७३ प्रतिशत हकप्रद सेयर जारी गरेर ८ अर्ब चुक्ता पुँजी पुर्याउने बैंकको योजना छ ।
हाल बैंकको ग्राहकमा ११ लाख भन्दा बढी निक्षेपकर्ता र १५ हजार भन्दा बढी ऋणी रहेको बैंकले जानकारी दिएको छ । असार मसान्तसम्ममा बैंकमा निक्षेप ८९ अर्ब र कर्जा ६३ अर्ब रुपैयाँ छ ।