काठमाडौं, १० भदौ । यो साता सेयर बजारमा मिश्रित परिसूचकहरु देखिएको छ । रकमको आधारमा कारोबार कम भए पनि समग्रमा सेयरको मूल्य बढेको छ । यो साता १९ हजार ९५४ कारोबारबाट ३ अर्ब ४५ करोड १४ लाख ४७ हजार रुपैयाँ बराबरका ४७ लाख ८१ हजार नौ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २१.४० प्रतिशत कम हो ।
यो साता सेयर बजार ४ दिन मात्र खुलेकोले पनि कारोबार कम भएको देखिन्छ । यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । कारोबार घटेपनि नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.१९ अंकले बढेर अन्तिम दिन १७३०.६२ अंकमा पुगेको छ । आईतबार १७२२ रहेको परिसूचक मंगलबार १६८१ मा झरेको थियो तर बुधबार बढेर १७३० भयो । सातामा बीमा समूहको परिसूचक २९५ अंकले बढेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.२४ अंकले बढेर ३७४.२५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम ( २८ करोड १३ लाख ९० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ९१ हजार कित्ता) को आधारमा एनएमवि सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३०८७ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ ।