काठमाडौं १०, भदौ । मर्जर तथा एक्जिजिसन (प्राप्ति)का कारण बैंक तथा वित्तीय संस्थाको ३१ करोड ८६ लाख कित्ता सेयरको कारोबार रोक्का भएको छ । मर्जर प्रक्रिया सुरु भएपछि समाप्त नहुँदासम्म सम्बन्धित कम्पनिहरुको सेयर कारोबार रोक्का गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोही व्यवस्थाका कारण हाल करीब ३२ करोड कित्ता सेयर अर्थात अंकित मूल्यका आधारमा पौनै ३२ अर्ब रुपैयाँको सेयर कारोबार रोक्का भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मर्जर तथा प्राप्तिका कारण अहिले ४६ कम्पनीको सेयर कारोबार बन्द रहेको छ । यी मध्ये अधिकांश विकास बैंक र फाइनान्स कम्पनी रहेको पनि नेप्सेले जानकारी दिएको छ ।
मर्जर गर्न सहमति पत्रमा हस्ताक्षर भएपछि सम्बन्धित कम्पनीले नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्छ । राष्ट्र बैंकले सैदान्तिक सहमति पछि तीन महिनाको समय दिन्छ । उक्त अवधिमा कम्पनीको लेखापरिक्षणसहितका सबै काम सकेर अन्तिम स्वीकृति पुनः राष्ट्र बैंकबाटै लिनुपर्छ । यही प्रक्रियाका कारण यी कम्पनीको सेयर कारोबार रोकिएको हो । समाचार स्रोत : कान्तिपुर दैनिक ।