काठमाडौं, ९ भदौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेड मर्जरमा जाने भएका छन् ।
अरुण कावेलीले असोज १ गतेको साधारण सभाबाट मर्जरमा जाने निर्णय गर्न लागेको छ भने अरुण भ्यालीले अघिल्लो साधारण सभाबाटै मर्जरमा जाने निर्णय गरिसकेको छ ।
अरुण कावेलीले असोज १ गतेका लागि डाकेको साधारणसभाको बिशेष प्रस्तावको रुपमा ‘अरुण कावेली पावर लिमिटेड, अन्य उपयुक्त हाइड्रोपावर कम्पनीहरुसँग एक आपसमा गाभ्न/गाभिन(एक्विजिसन) आवश्यक पर्ने सम्पूर्ण कार्यहरु गर्न सक्ने गरि सञ्चालक समितिलाई अख्तियारी दिने’ उल्लेख गरिएको छ ।
‘अरुण भ्याली र अरुण कावेली कम्पनीबीच मर्जर गर्न लागिएको हो, जलविद्युत कम्पनीमा पहिलो मर्जर यहि हुनेछ’ दुबै कम्पनीका अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले विकासन्युजसँग भने । दुबै कम्पनीका लगानी कर्ता एउटै रहेकाले मर्जर गरेर कम्पनीको क्षमता बढाउन लागिएको न्यौपानेले बताए ।
अरुण भ्यालीले ३ मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ भने अरुण कावेलीले २५ मेगावाट क्षमताको कावेली बी १ आयोजना निर्माण गर्न लागेको छ ।
अरुण कावेलीमा न्यौपाने अध्यक्ष र बछ्छा राज तातेर, जीवन राज शाक्य र भेज प्रसाद तिमिल्सिना सञ्चालक रहेका छन् ।
त्यस्तै, अरुण भ्यालीमा न्यौपाने अध्यक्ष र रमेश प्रसाद न्यौपाने, बछ्छा राज तातेर, जीवनराज शाक्य, पुजा दाहाल न्यौपाने, सञ्जिव न्यौपाने र भेज प्रसाद तिमिल्सिना सञ्चालक रहेका छन् ।
यीमध्ये रमेश प्रसाद न्यौपाने, पुजा दाहाल न्यौपाने र सञ्जिव न्यौपाने गुरु प्रसादकै पारिवारिक सदस्य हुन भने अन्य सञ्चालक अरुण कावेलीमा पनि सञ्चालक नै छन् । दुबै कम्पनीमा रहेका संचालकहरु बछ्छा राज तातेर, जीवन राज शाक्य र भेज प्रसाद तिमिल्सिना न्यौपाने परिवारको एस म्यान भएको जानकारहरु बताउँछन् ।
अरुण भ्यालीको चुक्ता पुँजी ७७ करोड रहेको छ भने अरुण कावेलीको चुक्ता पुँजी १५० करोड रहेको छ । अरुण भ्यालीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी २३० करोड पुग्नेछ ।
मर्जरपछि कम्पनीको नाम अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहने अध्यक्ष न्यौपानेले बताए । उनले एक बराबर एकको स्वाप रेसियामा मर्जर गर्नेबारे छलफल भैरहेको जानकारी पनि दिए । यस मर्जबाट न्यौपाने परिवारले उच्च लाभ लिने देखिएको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले प्रिमियम मूल्यमा निश्काशन गर्ने र सबै प्रमोटर सेयर साधारणमा परिवर्तन गर्ने प्रस्तावसहित भदौ १७ गते साधारणसभा गदैंछ । दुबै कम्पनीको अध्यक्ष न्यौपानेका यी प्रयासलाई साधारण सेयरधनीले गम्भिर रुपमा हेरिरहेका छन् ।