काठमाडौं ९, भदौ । अघिल्लो वर्षको बैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो ।
त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनुपर्नेछ ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो जिर्णोद्वार योजनाभित्र पशुपतिनाथको मुख्य मन्दिर भने समावेश गरिएको छैन। पसुपति क्षेत्रको सम्पदा भारतले पाउने भएपछि अन्य क्षेत्रमा देखिएको साचोलाई पनि अनुमति दिने पुरातत्व विभागको भनाई छ ।
विभागका अनुसार भारतले पसुपति परिसरका २५ वटा सम्पदा बाहेक काठमाडौंको सेतो मछेन्द्रनाथ, पाटनको भिमसेन मन्दिर पनि पुनर्निमाण गर्ने भएको छ । भारतसँगै नेपालको सम्पदा पुनर्निमाणमा विभिन्न छ देशले सघाउने भएका छन् । ६ देशको सहयोग प्रतिवद्धता आइसकेको विभागको भनाइ छ।
चीनले वसन्तपुरको नौतले दरवबार, नुवाकोटको साततले दरबार, तलेजु मन्दिरसहितको सम्पदा पुनर्निमाण गर्न सघाउने भएको छ । श्रीलंकाले बुङमतिको रातो मच्छेन्द्रनाथ, स्वयम्भूको आनन्दकुटी विहार, जर्मनीले चाँगुनारायण सत्तल, तिलेश्वर महादेव, अमेरिकाले तलेजुअगाडिको वागेश्वरी मन्दिर, कृष्ण मन्दिर, शंकरनाराण, चारनारायण र जापानले हनुमानढोका गद्दि बैंठक निर्माण सहयोग गर्ने जानकारी पुरातत्व विभागले दिएको छ ।