काठमाडौं ९, भदौ । नेपालमा भित्र्याउँन लागिएको वैदेशिक लगानीको स्रोत नखेलेको भन्दै लामो समयदेखि रोकिएको व्यापारी अजय सुमार्गीको पैसामा प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेको हुन् ।दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन् ।
‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गतसाता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने । ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपाल, राजश्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सह-सचिवहरू र राष्ट्र बैंकका अन्य अधिकारीहरू सहभागी थिए ।
बैठकमा दाहालले सरकारी अधिकारीसँग रकम रोकिनुको कारण, कानुनी व्यवस्थालगायतका विषयमा जानकारी लिएका थिए ।
दाहाल निकटकै व्यापारी सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी एफडिआईका रूपमा नेपाल ल्याउन लागिएको ११ अर्ब रूपैयाँ रोकिएको छ । यो रकममध्ये साढे तीन अर्ब रुपैयाँ सुमर्गीको बैंक खातामा आएपछि स्रोत नखुलेको भन्दै नेपाल राष्ट बैंकले चलाउन नमिल्ने गरि खाता रोकेको थियो । यो रकम रोकिएपछि सुमार्गीको अरु रकम पनि खातामा आएको छैन । समाचार स्रोत कान्तिपुर दैनिक