
अञ्जन श्रेष्ठ, अध्यक्ष–नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल
भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सवारीहरुको प्रदर्शनी नाडा अटो शो २०१६ हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएशनले आयोजना गर्ने उक्त मेलामा नेपालमा बिक्री हुने प्राय सबै सवारी साधन, सवारी सहायक बस्तुहरुको प्रदर्शनी हुने, ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने र २ अर्ब भन्दा बढीका करोबार हुने अनुमान गरिएको छ । मेलाको तयारी कस्तो छ ? मेलाबाट सवारी पारखीले के पाउने छन् ? प्रस्तुत छ, नाडा अटोमोवाइल्स एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्न र नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले दिएको जवाफको सारः
नाडा अटो शोको तयारी कस्तो छ ?
यहि भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं नाडा अटो शोको आयोजना गर्दैछौं । सबै खाले तयारीहरु अन्तिम चरणमा पुगिसकेको छ । सहभागी हुने ब्राण्ड, तिनको लोकेशन लगायतका सबै कुरा निश्चित भैसकेका छन् ।
अटो शोमा अटोमोबाइल्सका कुन–कुन उत्पादन समेटिँदैछन् ? र कति स्टल रहनेछन् ?
मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरु रहने छन् । त्यसमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् ।
साथै, नाडा अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् ।
कुन–कुन ब्राण्डले सहभागीता जनाउँदैछन् ?
नेपाली बजारमा उपस्थितका भएका प्राय सबै ब्राण्डलाई सहभागी गराउने प्रयास गरेका छौं । जस्तो कि चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ रहेका छन् ।
त्यस्तै २–पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । त्यस्तै, हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् ।
त्यसबाहेक पनि बिभिन्न वित्तीय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ ।
मेला कस्तो हुने पूर्वानुमान गर्नु भएको छ ?
अटोमोवाईल क्षेत्रको यो सबैभन्दा ठूलो मेला हो । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरेका छौं । उहाँहरुले मेलामा पक्कै पनि धेरै नयाँ कुरा देख्न पाउनु हुनेछ । गतसाल ४० हजारले अवलोकन गरेका थिए । गत सालको नाडा अटो शो मेलामा १५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसपाली करिब २ अर्बको कारोबार हुने अनुमान गरेका छौं । नाडा अटो शो बेच्ने मात्रै नभएर ब्राण्डिङ गर्ने स्थलका रुपमा पनि स्थापित हुँदै आएको छ । त्यसैले अब वर्षमा दुई पटक अटो शो गर्ने कि भनेर हामीबीच छलफल भैरहेको छ ।
अर्थतन्त्रमा अटो मोबाइल्स क्षेत्रको योगदान कति छ ?
अटो मोबाइल्स क्षेत्र भनेको मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै हो । करिव बर्षेनी पाँच हजार करोड रुपैयाँ बराबर कारोबार हुने गरेको छ । देशको कुल राजस्वमा करिब २० प्रतिशत योगदान अटोमोबाइल क्षेत्रले पुर्याएको छ । बीमा बजारमा करिब ४५ प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले नै ओगटेको छ । करिब १७ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
अटो मोबाइलको बजार वृद्धिको अवस्था कस्तो छ ?
भूकम्प र नाका बन्दीका बाबजुद पनि गत वर्ष ३५ देखि ४० प्रतिशत बजार बढेको थियो । यसपालीमा पनि सोही मात्रामा बजार वृद्धि हुन्छ । यसको स्कोप अझै ठूलो छ, त्यसैले बजार अझै वृद्धि हुन्छ ।
करको दरमा सधै असन्तुष्ठि व्यक्त गर्दै आउनु भएको छ, किन ?
विश्वमै नभएको भन्सार दर हामी कहाँ छ, अटो मोबाइल क्षेत्रमा । अब यसलाई बिलासिताको बस्तुबाट आवश्यक बस्तुका रुपमा मान्यता दिनु पर्छ त्यसका लागि करको दर घटाउनु पर्छ भन्ने हाम्रो माग हो । खास गरी सरकारी अधिकारी तथा नीति निर्माताले अटोमोवाईल क्षेत्रलाई विलासीका बस्तुको रुपमा लिनु भएन । यसलाई बिलासीको बस्तुबाट आवश्यकताका बस्तुका रुपमा परिभाषित गरिनुपर्छ भन्ने हाम्रो माग हो ।

५ हजार करोड रुपैयाँको कारोबार हुन्छ भन्नु भयो । यति ठूलो बजार भए पनि नेपालमा नै एसेम्बल गरी मोटर निर्माण किन गर्न सकिएको छैन ?
हामी पनि एसेम्बलको काम गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेको धेरै पहिले नै हो । त्यसका लागि सरकारसँग पनि विशेष सुबिधा माग गर्दै आएका छौं । नेपालमा एसेम्बल गरियो भने त्यसले सहायक कम्पनीहरुको स्थापना गराउँछ र रोजगारीको ठूलो अवसर सृजना हुन्छ । एसेम्बलका लागि सरकारले छोटो समय सुबिधा दियो भने लामो समयसम्म अर्थतन्त्रामा योगदान पुग्छ । यसपालीको बजेट मै केहि सुबिधाका लागि आग्रह गरेका थियौं । तर त्यस्तो सुबिधा केहि पनि आएन् । बजाज मोटर साइकलको एसेम्बल युनिट स्थापना भैसकेको छ । त्यहि छुटको बिषयमा कुरा नमिलेर उत्पादन बजारमा ल्याउन नसकिएको हो ।
सडक मर्मत तथा सम्भार दस्तुर उठाइँदै आएको छ, तर सडकको दुर्दशा र दुर्घट्ना घटेका छैनन् नि ?
सरकारलाई सडक मर्मत तथा सम्भार दस्तुर लिन र त्यस कोषले सडक मर्मत गर्न हामीले नै सरकारलाई सुझाव दिएका हौं । तर सरकारले त्यो शिर्षकमा रकम उठाए पनि काम गरेन । सुरुमा दुई प्रतिशत, त्यसपछि पाँच प्रतिशत हुँदै यसपाली ७ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर पुर्याएको छ । त्यो रकम राजश्व खातामा हालेको देखिन्छ । अब त्यो ७ प्रतिशत दस्तुर छुट्टै कोष बनाएर सडक मर्मतमा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । ट्राफिक व्यवस्थापनमा पनि सोही कोषको केहि रकम खर्च गर्न सकिन्छ ।
नेपालमा यतिबेला सडक विस्तारको काम द्रुतगतिमा अघि बढेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण छिचोल्ने सडक करिडोरहरुको काम अघि बढेसँगै त्यसको पुष्टि हुन्छ । तर त्यसको गुणस्तर मापनको उपयुक्त विधि अबलम्बन गरिनु आवश्यक छ ।