काठमाडौं, ७ भदौ । जग्गाको कारोवार गर्न स्थापना भए बाहेकका फर्म, कम्पनी, गैरसरकारी संस्था, विद्यालय जस्ता संस्था र निकायले आफ्नो स्वामित्वमा भएको जग्गा विक्री गर्दा अनिवार्य रुपमा अग्रिम कर तिर्नुपर्ने भएको छ ।
यस्ता निकायले जग्गा विक्री गर्दा जति मूल्यको विक्री गरेको भएपनि अग्रिम १० प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसअघि यस्तो ब्यवस्था थिएन ।
यसअघि ब्यक्तिले जग्गा विक्री गर्दा ३० लाख भन्दा माथिको कारोवारमा यस्तो कर लाग्न गरेको भए पनि त्यस्ता संस्था वा निकायले कर छुट पाउदै आएका थिए । सरकारले चालु आर्थिक बर्षदेखि जग्गाको कारोवार गर्ने यस्ता निकायले पनि अग्रिम कर तिर्नुपर्ने ब्यवस्था गरेको हो ।
आन्तरिक राजस्व विभागले ७ भदौमा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो कारोवारमा कर लाग्ने जानकारी गराएको छ ।
‘एकलौटी फर्म, साझोदारी फर्म, कम्पनी गैरसरकारी संस्था, ट्रष्ट, निजी विद्यालय/विश्विद्यालय लगायतका निकायहरुले आफ्नो स्वामित्वको जतिसुकै मूल्यको जग्गा भवन निसर्ग (विक्री वा अन्य कुनै प्रकारले स्वामित्व हस्तान्तरण) गर्दा भएको लाभमा रजिस्ट्रेसनका बखत १० (दश) प्रतिशतशका दरले अग्रिम कर असुल गर्ने,’ विभागले सामयिक कर असुल ऐन २०१२ को दफा ३ दिने दिएको अधिकार प्रयोग गरी प्रकाशित गरेको सार्वजनिक सुचनामा उल्लेख गरिएको छ ।
ब्यक्तिले भने ३० लाख रुपैयाँसम्मको जग्गा विक्री गर्दा अग्रिम कर तिर्नु पर्दैन । त्यसभन्दा माथिको जग्गा विक्री गर्दा खरिद गरिएको ५ बर्षभन्दा अगाडि नै विक्री गर्नुपरे ५ प्रतिशत र सोभन्दा पछाडि विक्री गर्नुपरे २.५ प्रतिशत कर तिर्नु पर्छ ।
यस्तो ब्यवस्था घरजग्गा ब्यवसायीको हकमा भने लागू नहुने विभागले जानकारी दिएको छ । ‘घरजग्गा ब्यवसाय गर्नको लागि स्थापना भएका फर्म, कम्पनी वा संस्थाले १० प्रतिशत अग्रिम कर तिर्नुपर्दैन, यो ब्यवस्था अरुहरुको लागि हो,’ विभागका एक अधिकारीले भने ।