प्राधिकरणले दुई दिनमै ४४६ को लाइन काट्यो, ९ अर्ब रुपैयाँ महसुल उठाउन बाँकी

<p>काठमाडौं ७ भदौ । नेपाल विद्युत् प्राधिकरणको मुलुकभरका ९६ वितरण केन्द्रले महसुल गरेको भन्दै दुई दिनमै ४ सय ४६ ग्राहकको बिजुली काटेका छन् । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि सोमबारसम्ममा प्राधिकरणले ठूलो रकम बक्यौता भएका देशभरका ग्राहकको लाइन काटेको हो । उनीहरूको कुल बक्यौता ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ छ । प्राधिकरणले करिब ९ [&hellip;]</p>

काठमाडौं ७ भदौ । नेपाल विद्युत् प्राधिकरणको मुलुकभरका ९६ वितरण केन्द्रले महसुल गरेको भन्दै दुई दिनमै ४ सय ४६ ग्राहकको बिजुली काटेका छन् । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि सोमबारसम्ममा प्राधिकरणले ठूलो रकम बक्यौता भएका देशभरका ग्राहकको लाइन काटेको हो । Nepal-Electricity-Authority

उनीहरूको कुल बक्यौता ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ छ । प्राधिकरणले करिब ९ अर्ब रुपैयाँ महसुल ग्राहकसँग उठाउन सकेको छैन । त्यसमध्ये नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको बक्यौता दुई अर्ब रुपैयाँ छ ।

सरकारी कार्यालयको बक्यौता १९ करोड रुपैयाँभन्दा बढी छ । सरकारी कार्यालयलाई एक साता समय दिएर बक्यौता तिर्न ताकेता गर्ने तयारी प्राधिकरणले गरेको छ ।

ग्राहकले लामो समयसम्म बक्यौता नतिरेका कारण प्राधिकरणको सञ्चित नोक्सान बढ्दै गएपछि बक्यौता नतिर्नेको लाइन काट्ने अभियान थालिएको हो ।

मन्त्रीको निर्देशनपछि प्राधिकरणका हरेक वितरण केन्द्रले पहिलो चरणमा आफूमातहतका धेरै बक्यौता राख्ने कम्तीमा १० ग्राहकको लाइन काट्ने अभियान थालेको हो । सोमबारसम्ममा सबैभन्दा धेरै विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रले लाइन काटेका छन् । पोखरा र बुटवल क्षेत्रीय कार्यालयको विवरण भने आएको छैन ।

विद्युत महसुल निर्धारण आयोगले निर्धारण गरेको महशुल समायोजन गर्न सफ्टवेयर मिलानको काम भएकाले बक्यौताको विवरण संकलन गर्न केही कठिनाइ भएको छ ।

सरकारले पैसा तिर्ने प्रतिबद्धता जनाएपछि प्राधिकरणले नारायणहिटी दरबार संग्रहालयभित्र रहेको महेन्द्र मञ्जिलमा २४ घन्टापछि बिजुली जोडिदिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महेन्द्र मञ्जिलको नाममा रहेको बक्यौता ४६ लाख ६४ हजार एक सय ६३ रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएपछि प्राधिकरणले सोमबार बिजुली चालु गराएको हो ।

संस्कृति मन्त्रालयले बक्यौता चुक्ता गरिदिने पत्र सोमबार ऊर्जा मन्त्रालयमार्फत पठाएपछि सोमबार अपरान्ह ४ बजेदेखि बिजुली जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । ‘सरकार नै जमानी बसेपछि लाइन जोडिदिएका हौँ,’ उनले भने ।

प्राधिकरणले पूर्व मुमा वडामहारानी रत्न शाह बस्ने महेन्द्र मंजिलको विजुली आइतबार दिउँसो काटेको थियो । प्राधिकरणले पटक–पटक ताकेता गर्दा समेत महसुल नतिरेपछि बिजुली काटेको हो ।

महेन्द्र मंजिलले ०६८ साउनबाट विद्युत महसुल तिरेको छैन । प्राधिकरणले ताकेता गर्दा समेत कुनै सुनुवाई नभएपछि आइतबार लाइन काटिएको थियो समाचार स्रोतः नयाँ पत्रिका दैनिक

Share News