काठमाडौं, ६ भदौ । ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना भदौ दोर्सो साताबाट सञ्चालनमा आउने भएको छ । आयोजना निर्माणको अधिकांश कार्य अन्तिम चरणमा पुगेकोले भदौ दोस्रो साताबाट विद्युत् उत्पादन गर्न थाल्ने प्रवद्र्धक कम्पनी सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीले जानकारी दिएको छ ।
‘रन अफ रिभर’ प्रविधिमा निर्माणधिन उक्त आयोजना निर्धारित समय अगष्ट ३० देखि विद्युत् उत्पादन थाल्ने लक्ष्य सहित तिव्र गतिमा अघि बढाइएको पावर कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए । चीनको चर्चित तथा बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको सुरुङ, विद्युतगृह, बाँध क्षेत्र र प्रशारण लाइनको काम तीव्र रुपमा अघि बढेको बताइएको छ ।
करिब १२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरि निर्माण कार्य शुरु गरिएको उक्त आयोजनामा २५/२५ मेगावाटको दुई ओटा टर्वाइन रहनेछन् । आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेकोले अब विद्युत उत्पादन गर्न कुनै व्यवधान नआउने अधिकारीले बताए । आयोजनामा चिनियाँ सिनो हाइड्रो पावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ ।
आयोजनामा विद्युतगृह सिभिलतर्फको ९५ प्रतिशत, मेकानिकलतर्फको ८५ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फको तीन चौथाइ भन्दाबढी काम सम्पन्न भइसकेको छ । बाँधको सिभिलतर्फको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रवद्र्धक कम्पनीका अनुसार अहिले बाँध परीक्षणको कार्य भइरहेको छ ।
लमजुङको भुलभुलेमा निर्माणाधिन उक्त आयोजनाको बाँधको ढोका र जलाशय परीक्षण शुरु गरिएको हो । बाँधका तीन ओटा मूल ढोका रहेका छन् । बाँधको दुई ओटा ढोका बन्द गरी परीक्षण कार्य शुरु गरिएको अधिकारीले जानकारी दिएका छन् ।
‘दुई ढोका बन्द गर्दा अर्थात बाँधमा पानीको सहत बढ्दा के कस्तो प्रभाव पर्छ एवम् कति पानीको सहत बढ्छ भनी पहिचान गर्न लागिएको हो,’ उनले भने ‘ढोकालगाउँदा १ हजार २ सय मिटर पानीको सहत बढेको छ ।’ अहिले वर्षाको समय भएकाले पनि पानीको सहत बढेको हो । कम्पनीले आयोजना निर्माणका साथै प्रशारण लाइन निर्माण कार्यलाई पनि सगँसगै अघि बढाएको छ । विद्युत प्रशारणका लागि ५४ ओटा टावर निर्माण गर्नु पर्नेमा सबै निर्माण कार्य सम्मन्न हुन लागेको बताइएको छ ।