काठमाडौं, ६ भदौ । प्राकृतिक प्रकोपको मारमा कृषि क्षेत्र परेको छ । प्राकृतिक प्रकोपका कारण बर्सेनि कृषि क्षेत्र प्रभावित हुने गरेको छ । गत वर्षमात्र खडेरीका कारण कृषिमा मात्रै करिब आठ अर्व रुपैयाँको क्षति भउको छ । खडेरीले कृषिबाली नष्ट गरेको र बालिनाली नै हुन नसकेका कारण ७ अर्ब ७५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि विकास मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्यांक छ । खडेरीका कारण मुलुकभर ३ लाख २५ हजार ८५७ हेक्टरको अन्नबाली, तरकारी, फलफूललगायत कृषि उपजमा क्षति पुगेको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ।
गत वर्ष खडेरीले खेती गर्ने क्षेत्रसमेत घटेको थियो भने गरिएको खेती खडेरीका कारण सुकेपछि कृषक मारमा परेका थिए।
कर्णालीमा ४० वर्षयताकै ठूलो खडेरीका कारण वर्षे र हिउँदे दुवै बाली प्रभावित बनेपछि कर्णालीवासी विस्थापनमा परेका थिए । खडेरीका कारण कर्णालीवासीले अझै खाद्य संकट भोगिरहेका छन् ।
कुनै वर्ष खडेरी र कुनै वर्ष डुबानका कारण सबैभन्दा बढी धानखेतमा क्षति हुने गरेको छ भने बाढी र पहिरोका कारण विभिन्न बालीमा कुनै न कुनै मात्रामा क्षति भइरहेको पाइन्छ ।
यो वर्ष भने बाढीका कारण साउनसम्ममा मात्र ७२ हजार २२५ हेक्टर क्षेत्रमा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको कृषि विभागले जनाएको छ ।
कुनै वर्ष खडेरी र कुनै वर्ष बाढीपहिरोका कारण कृषिमा क्षति हुँदै आएको विभागका महानिर्देशक युवकध्वज जीसीले बताए । जिल्ला–जिल्लामा भएको क्षतिको विवरण संकलन गरेर हरेक वर्ष मन्त्रालयमा पठाउँदै आएका पनि उनको भनाइ छ ।