म्याग्दी, ५ भदौ । जिल्लाका व्यवसायीले निजी सवारी साधनमा लगानी बढाउन थालेका छन् । व्यापारीले सामान ढुवानी र होटल व्यवसायीले पाहुनाको सुविधाका लागि गाडी खरिद गर्न थालेका हुन् । ग्रामीण बस्तीमा सडक विस्तार हुन थालेपछि बढेको प्रतिस्पर्धासँगै कुनै समय खच्चरबाट सामान ढुवानी गर्ने व्यापारीले अहिले गाडीबाट उपभोक्ताको घरदैलोमा सामान पु¥याउन थालेका हुन् । व्यापारको शैली फेरिएको छ । पहिले ग्राहक व्यापारी खोज्दै बजार आउने गर्दथे । अहिले व्यापारी गाडीमा सामान बोकेर ग्रामीण क्षेत्रका ग्राहकको घरदैलोमा पुग्ने गर्छन् ।
बेनी, तातोपानी, दरवाङ, भुरुङ तातोपानी लगायतका ठाउँका किराना, खाद्यान्न, तरकारी, भाँडा, र कपडा व्यवसायीले पछिल्लो समय आफ्नै गाडीमा सामान ढुवानी गर्न थालेका छन् । अरुको गाडीमा सामान ढुवानी गर्दा पालो कुर्नेपर्ने र भनेको समयमा पु¥याउन नसक्ने समस्या भएपछि आफ्नै गाडी किनेको बेनीका भाँडा व्यवसायी रामचन्द्र तिमिल्सीना बताउछन् ।
“ग्राहकले सहज रुपमा सेवा पाउन थालेपछि व्यापारमा वृद्धि भएको छ,” उनले भने । बेनीका अधिकांश होलसेल व्यापारीले आफ्नै गाडीबाट सामान ढुवानी गर्छन् । घरायसी प्रयोजनका लागि पनि निजी गाडी उपयोगी भएको दाना तथा पशुजन्य औषधि व्यवसायी टेकप्रसाद सापकोटाले बताए ।
होटलले पनि गाडीको सुविधा दिन थालेका छन् । हालै मात्र होटल याक, डल्फिन र एसियन होटलले महिन्द्रा कम्पनीको स्कारपीयो गाडी किनेका छन् । होटलमा आउने पाहुनालाई घुमाउन र उनीहरुले चाहेको सुविधा दिनका लागि गाडी खरिद गरेको होटल याकका सञ्चालक बाबुराम आचार्यले बताए ।
पाहुनालाई विभिन्न ठाउँमा घुमाउन भाडाका र बागलुङ, पोखराबाट मगाएर गाडीको व्यवस्था गर्नुपर्ने समस्याको अन्त्य भएको आचार्यको भनाइ छ । जिल्लामा व्यापारिक प्रयोजनका लागि बोलेरो, पिकअफ भ्यान, अल्ट्रा र घरायसी तथा होटलको लागि स्कारपियो ब्रान्डको गाडी भित्रने क्रम बढेको अटो व्यवसायीले बताएका छन् ।
बेनीमा भित्रिएका गाडीको मूल्य रु २५ लाखदेखि रु ६० लाखसम्म छ । जिल्लाको लागि महिन्द्रा कम्पनीको अधिकृत बिक्रेता रारा अटो मोबाइल्सका सञ्चालक हरि भण्डारीले गत मङ्सिर यता १०० वटा नयाँ गाडी बिक्री भएको बताए । निजी गाडी किन्नेमा अधिकांश व्यापारी छन् ।
बैंक तथा वित्तीय संस्थाको सुविधाका कारण पनि व्यवसायीलाई सवारी साधन खरिद गर्न सहज भएको छ । निजी गाडी सामान ढुवानीका साथै न्यूनमात्रामा सार्वजनिक सवारी चल्ने गाउँका कच्ची बाटोमा यात्रु बोक्न प्रयोग भएका छन् । ग्रामीण क्षेत्रमा उत्पादित दूध, आलु, तरकारी बजारमा ल्याउन, बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ । सडक पुगेको सबैजसो बस्तीमा एउटा न एउटा सार्वजनिक अथवा निजी गाडी छन् । टोल टोलमा गाडी उपलब्ध हुन थालेपछि बिरामी पर्दा समयमै सस्तोमा अस्पताल पुग्न पाएका छन् । रासस