काठमाडौं, ५ भदौ । बाणिज्य बैंकहरुले पूजी बृद्धि योजनामा राष्ट्र बैंकमा बुझाएको विवरण अनुसार हकप्रद र एफपिओ जारी नगरी अन्य विकल्प खोजी गरेका छन् । हकप्रद र एफपिओ जारी गर्ने योजना बनाएका बैंकले पनि मर्जर र एक्विजिसनलाई प्राथमिकता दिदै यस्तो पार्टनर खोज्ने र सकेसम्म बोनस सेयर दिएर पूजी बढाउने विकल्प प्रयोग गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकमा बुझाएको विवरण अनुसार नविल, नेपाल इन्भेष्टमेन्ट, एनएमबी र मेगा बैंकले गत आर्थिक बर्षमा नै थप साधारण सेयर (एफपिओ) जारी गर्ने कार्ययोजना बनाएका थिए । बैंकहरुले पूजी बृद्धि गर्नको लागि बनाएको योजनामा आर्थिक बर्ष २०७२/७३ मा नविल, नेपाल इन्भेष्टमेन्ट, एनएमबी र मेगा बैंकले ५ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको एफपिओ जारी गर्ने उल्लेख गरिएको छ ।
नविल बैंकले १ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले ८० करोड, एनएमबीले ८७ करोड ३० लाख र मेगा बैंकले ३ अर्ब रुपैयाँ बराबरको एफपिओ जारी गर्ने योजना थियो । यसमध्ये इन्भेष्टमेन्ट बैंकले एफपिओ जारी गरिसकेको छ ।
नविल बैंकले गत आर्थिक बर्षमा १ अर्ब रुपैयाँ बराबरको एफपिओ जारी गर्ने कार्ययोजना बनाएको थियो । बैंकले भने विषेश अग्राधिकार सेयर (इरिडेमेवल प्रिफरेन्स सेयर) जारी गर्न लागेको थियो । तर पछि बैंकले आफ्नो योजना सच्याएर एफपिओ जारी नगर्ने योजना राष्ट्र बैंकमा बुझाइसकेको छ ।
एनएमबी बैंकले गत आर्थिक बर्षमा नै ८७ करोड ३० लाख रुपैयाँ बराबरको एफपिओ जारी गर्ने योजना राष्ट्र बैंकमा बुझाएको थियो । मेगा बैंकले गत आर्थिक बर्षमा नै ३ अर्ब रुपैयाँ बराबरको एफपिओ जारी गर्ने भएको योजना राष्ट्र बैंकमा बुझाएको थियो । तर यस्तो एफपिओ मेगाले जारी गरेको छैन ।
१० बाणिज्य बैंकको १५ अर्बको हकप्रद दिने योजना थियो
गत आर्थिक बर्षमा १० बाणिज्य बैंकले १५ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर जारी गर्ने योजना राष्ट्र बैंकमा बुझाएका थिए । आगामी २०७४ असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनुपर्ने र त्यसको लागि पूजी बृद्धिको योजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले बनाएको योजनामा १५ बाणिज्य बैंकले गत आर्थिक बर्षमा नै १५ अर्ब १५ करोड १९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने उल्लेख थियो । गत आर्थिक बर्षमा नै हकप्रद सेयर जारी गर्छु भनेर विवरण पेश गर्ने बैंकहरुमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), एनआइसी एशिया, लक्ष्मी, सिटिजन्स, सनराइज, एनएमबी, मेगा, सिभिल, सेन्चुरी र सानिमा बैंक थिए ।
एनसीसी बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भनेको थियो । तर एनसीसीले हकप्रद जारी गरेन । मर्जर र बोनस सेयर प्रदान गरेर पूजी पुर्याउने बाटोमा एनसीसी लागेको छ । एनआइसी एशिया बैंकले गत आर्थिक बर्षमा नै ९२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको भनेको थियो । तर एनआइसी एशियाको हकप्रद पनि गत आर्थिक बर्षमा आएन ।
लक्ष्मी बैंकले गत आर्थिक बर्षमा नै ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने कार्ययोजना बनाएको छ । लक्ष्मीको हकप्रद पनि गत आर्थिक बर्षमा आएन । सिटिजन्स बैंकले गत आर्थिक बर्षमा १ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने योजना बनाएको थियो । तर सिटिजन्सले मर्जर र एक्विजिसनवाट पूजी बृद्धि गर्ने गरी काम गरिरहेको छ ।
सनराइज बैंकले गत आर्थिक बर्षमा ३८ करोड ५७ लाख रुपैयाँ बराबरका हकप्रद सेयर जारी गर्ने भनेको थियो । सनराईजको हकप्रद पनि गत आर्थिक बर्षमा आएन । एनएमबी बैंकले गत आर्थिक बर्षमा ६४ करोड १८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भनेको थियो । तर उसको पनि हकप्रद आएन । एनएमबीले पनि मर्जर र बोनस सेयरवाट पूजी बृद्धि गर्ने गरी काम गरिरहेको छ ।
मेगा बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भनेको थियो । तर मेगाको हकप्रद आएकै छैन । यस्तै सिभिल बैंकले गत आर्थिक बर्षमा नै २८ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भनेको थियो । सिभिलको पनि हकप्रद आएन ।
सेन्चुरी बैंकले गत आर्थिक बर्षमा नै १ अर्ब ३८ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने योजना राष्ट्र बैंकमा बुझाएकोे थियो । यस्तै सानिमा बैंकले गत आर्थिक बर्षमा नै २ अर्ब ५ करोड ६० लाख रुपैयाँ बराबरको हकप्रद जारी भनेको थियो ।