प्रकृति, जहाँ सौन्दर्य र अनुपमताको अभाव रहन्न । तर, यही प्रकृतिसँगै विपत्तिको अर्को पाटो पनि छ । ‘विपद्’ स्वभावैले आमन्त्रित, आयातित वा पूर्वसूचित हुँदैन । तर, त्यसलाई कसरी सहन गर्ने, त्यसबाट उत्पन्न प्रतिकूलतालाई कसरी अनुकूलतातर्फ लैजाने भन्ने विषय देश– कालपिच्छे फरक हुँदोरहेछ । हामीले १२ वैशाख ०७२ को विनाशकारी महाभूकम्प व्यहोर्नुअघि र पछि पनि विश्व परिदृश्यमा यस्ता विपद् नियमित अकस्मिकताझैँ आउँदै–जाँदै छन् । त्यसमा पनि हाम्रो निकटवर्ती मित्रराष्ट्र चीनको अनुभव हाम्रो तुलनामा कता हो कता, फरक छ ।
७० करोड जनता, अर्थात् नेपालको कुल जनसंख्यालाई एउटा देश मान्दा हाम्रोजस्तो २३ वटा देशलाई विकसित क्षेत्रमा सार्नु छ, स्तरोन्नति गर्नु छ । त्यसमध्ये एक करोड बासिन्दालाई त स्थायी रूपमै स्थानान्तरण गर्नु छ । र, त्यत्तिकै संख्यामा रोजगारी पनि दिनु छ । विपत्तिपछि स्वाभाविक रूपमा प्रभावित क्षेत्र प्रदूषित हुने नै भयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘नीलो आकाश र स्वच्छ पानी’ को नारा मात्र उरालेनन्, त्यसलाई व्यवहारमै लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । संसारभर उत्पादन हुनेमध्ये ७० प्रतिशत आइफोन र आइपडको उत्पादक राष्ट्र चीनको जनसंख्यामा यतिबेला जर्मनीको जनसंख्या बराबर ‘गरिब’ छन् । अर्थात् ८ करोड चिनियाँ जनता गरिबीको रेखामुनि छन् । उतिबेला पृथ्वीनारायणले नुवाकोटलाई किन निशाना बनाए ? यतातिर घोत्लिँदा हामीले आफ्नो ऐतिहासिक भूमिका पनि सम्झनुपर्छ । त्यसबेला हामीले तिब्बतका शासकलाई चाँदीको सिक्का बनाएर पठाउँथ्यौँ । लिने र दिने, अर्थात् व्यापारसँग सम्बन्ध भएपछि त्यसमा मिल्ने र नमिल्ने दुबै कुरा आउँछन् ! त्यही निहुँमा (भोट) तिब्बत र नेपालबीच पटक–पटक लडाइँ भएका दृष्टान्त हाम्रो इतिहासमा सुरक्षित छन् । हामीले चाँदीको सिक्का पठाएबापत भोटसँग राजस्व असुल्थ्यौँ । त्यहाँबाट धर्मगुरु दलाई लामा १९५९ मा भागे, अहिले पनि राजनीतिक कारणले भारत निर्वासनमै छन् । तर, तिब्बतको राजधानी ल्हासामा त्यसअघिबाटै थुप्रै नेवार समुदायकारोबारी छन् ।
यसको भित्री कथा खोतल्ने हो भने पनि छर्लंग हुन्छ कि, इतिहासको कुनै कालखण्डमा हाम्रो आम्दानीको मुख्य स्रोत नै तिब्बत थियो । त्यसैले जब पृथ्वीनारायणले काठमाडौं आक्रमण गरिरहेका थिए, त्यसबेला नुवाकोटको नाका बन्द गरे । आज हामी दक्षिणको छिमेकीसँग ‘रोटी और बेटी’ भन्दै सम्बन्ध नजिक्याउँदैछौँ, उसबेलाको कुरा फरक थियो– हामीले राजकुमारी भृकुटीलाई भोटका श्रङचङ गम्पोसँग विवाह गरिदियौँ । कलासँग जोडिएर बेइजिङमा स्थापित एउटा २० वर्षको पाटने केटो त्यहाँको मन्त्री भएको इतिहास छ । ती नेपाली उता ४२ वर्ष बसे, ६२ को उमेरमा उतै निधन भयो । तिब्बत पस्ने मुख चेङ्दुभन्दा १२० किलोमिटर चीनका पर आठ वटा काउन्टी (हाम्रो जिल्ला भनेजस्तो) छन् । नेपालको पूर्वीपहाडी जिल्लापारि छ । त्यहाँ एक दिनको भुइँचालोले चार सय ८८ विद्यालय ढाल्यो । तीमध्ये तीन सय ७० विद्यालय काम नलाग्ने अवस्थामा पुगे । तर, ३ दशमलव ४ बिलियनको लगानीमा दुई वर्षमै त्यहाँको पुनर्निर्माण सम्पन्न भयो । भूकम्पले जनधनको क्षति ग¥यो, मानिसको जिन्दगीमा वेदनाका कथा थपिए, हाम्राजस्ता दर्दनाक पारिवारिक बिछोड त कति हो कति ! तर, यी तमाम दुःखसँगै भूकम्प अवसर पनि बन्यो, नयाँ बस्ती बसाल्ने मौकाका दृष्टिले ।
भूकम्पले त्यहाँ २० अप्रिल २०१३ को बिहान ८ बजेर २ मिनेट जाँदा उपस्थिति जनायो । बिहानी समय हुनाले क्षति कम भयो, विशेषतः विद्यालयस्तरका बालबालिका सुरक्षित रहे (हाम्रोजस्तै) । त्यसबेला सांघाई नजिक सुचाऊ भन्ने सहरमा एउटा मिटिङ चल्दै थियो । हंगेरियन संसद्का उपसभामुख तथा युरोपियन संसद्को सदस्यका उपस्थिति थियो । उनले तुरुन्त घोषणा गरे, ‘भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई मेरो देश लैजान्छु, रिफ्रेसमेन्टका लागि ।’ यसअनुसार, ५० विद्यार्थी हंगेरी गए । त्यसमध्ये ४० बालिका, १० बालक थिए । विद्यार्थीलाई पठाउने कामका लागि वैज्ञानिक छनोट प्रक्रिया अवलम्बन गरियो, सब योग्यताको आधारमा । ती विद्यार्थी थिए, कहिल्यै जहाज नचढेका, अर्को सहर पनि नदेखेका । हंगेरी पठाउन नियम बनाइयो कक्षामा राम्रो नम्बर ल्याएको, प्रतिभाशाली । त्यसअघि को–को जान इच्छुक छन् भनी सूचना जारी भयो । पछि दाबी–विरोधको मौका पनि दिइयो, स्कुलमै सूचना टाँसेर र पत्रिकामा विज्ञापन छापेर । यस्तो विधि अपनाइँदा खास भूकम्पपीडित नै परे । हाम्रोमा भए नेताका सन्तानले मौका पाउँथे । चिनियाँ सहर लिजियाङमा सन् १९९६ फेब्रुअरी ३ मा ७ म्याग्निच्युडको भूकम्प गयो । ७ बजेर १४ मिनेट १८ सेकेण्डमा त्यहाँका बासिन्दाले धक्का महसुस गरे । भूकम्पले २५ सेकेण्डसम्म हल्लायो । तीन सय नौ बासिन्दाले ज्यान गुमाए । तीन हजार सात सय २५ घाइते र दुई लाख मानिस घरबारविहीन भए । त्यसले एक करोड ४६ लाख १० हजार वर्गकिलोमिटर क्षेत्रफलभित्र प्रभावित ग¥यो । तीन महिनासम्म जनताको बास खुला आकाशमुनि । खाने, बस्नेदेखि दिसा–पिसाबसम्मको समस्या झेले त्यहाँका बासिन्दाले । स्कुल बन्द भए, सञ्चारका सबै साधन अवरुद्ध थिए । र, चीन आजको जस्तो ‘धनी राष्ट्र’ पनि थिएन ।
यस्तोमा संसारको जुन–जुन भागमा चिनियाँ बस्छन्, तिनले त्यहीँ–त्यहीँबाट आफ्नो देशमा पैसाको ओइरो लगाए । पुनर्निर्माणमा कुल लगानीमध्ये हङकङका आप्रवासी चिनियाँले मात्र १० प्रतिशतको योगदान गरे । एक वर्ष नपुग्दै त्यो ठाउँ टाकटुक बन्यो । यस्तो नाटकीय पुनर्निर्माणबाट लिजियाङ विश्वप्रख्यात भयो । र, सन् १९९५ मा आठ लाख ४५ हजार पर्यटक गए । तीन करोड ३० लाख युआन राजस्व त पर्यटकबाट मात्रै संकलन भयो । सन् २०१४ मा पर्यटक संख्या दुई करोड ६० लाख ६ सय ३० पुगे । त्यसले गर्दा ३७ दशमलव ८ विलियन राजस्व संकलन भयो । अर्थात्, नेपालको जनसंख्याबराबर त पर्यटक नै पुगे । पुनर्निर्माणपछि त्यहाँको जनसंख्या पनि बढ्यो । हामीकहाँ भूकम्प, बाढी–पहिरोजस्ता बिपत्तिपछि बसाइँ सर्नेको ताँतीले गाउँ–गाउँ नै रित्तिने चलन छ । त्यहाँ ठीक उल्टो । यसबाट भन्न सकिन्छ, इमानदारीपूर्वक प्रयत्न गर्दा नहुने कुरा केही रहेनछ । यसो त, चीनको विकास, उसले विश्वलाई हेर्ने र विश्वले उसलाई हेर्ने हेराईका बान्की रोचक छन् । जस्तो कि, वर्षौंदेखि चिनियाँहरु ठेक्कापट्टाको काममा पोख्त मानिन्छन् । विश्व परिदृश्यमा अझै पनि लगानीको सुरक्षाका लागि चीनले सेना पनि साथै लान्छ कि भन्ने आशंका छ । बर्मामा अढाई वर्षअघि चिनियाँ लगानीको ठूलो जलविद्युत् परियोजनामा अवरोध सिर्जना भयो । बर्माको ठूलो भूभाग चीनसँग सिमाना जोडिएको छ । तर, चीनले त्यस्तो अप्ठ्यारोमा पनि सेना पठाएन । श्रीलंकामा महेन्द्रा राजापाक्षे सत्ताबाट बहिर्गमित भएपछि पनि चीनले त्यहाँ गर्दै रहेको ठेक्काको ठूलो लगानी डुबायो । कम्बोडियामा पनि त्यस्तै भयो । तर, उसले आफ्नो प्रत्यक्ष लगानी त्यसरी डुब्दा पनि फौजी समाधान खोजेन, कूटनीतिक रूपमा हल गर्ने भनेर पहलकदमी लियो ।

जापानले इरानमा उद्योग खोल्यो । इराक–इरान लडाँइको सिकार बन्दा इराकले जापानी उद्योगमा बम पड्काइदियो । लिबियामा गद्दाफी सरकार हुँदा चीनले ठूलो धनराशिमा विभिन्न व्यवसायसञ्चालन ग¥यो । चीनको सम्बन्ध गद्दाफीसँग थियो । गद्दाफी ढलेपछि लगानी साफ हुने नै भयो । त्यसैले हो, चिनियाँले स्थायी सरकार खोज्ने । त्यस्तो भयो भने मात्र, लगानीको सुरक्षा र दीर्घकालीन सम्बन्ध रहन्छ भन्ने मान्यतामा उनीहरू विश्वास राख्छन् । चिनियाँले के कुरा बिर्सदैनन् भने, पहिला ब्रिटेनले उनीहरूलाई अफिमको नशामा लठ्याएर हङकङ र मकाउजस्ता आकर्षक सहर सय वर्षका लागि लियो । अफिम व्यापारमा घाटा लाग्यो भनेर बेलायतले लडाकु जहाज पठाई चीनमा आक्रमण गरायो । विगतको गल्तीबाट पाठ सिक्दै चिनियाँ जाग्न थाले । पराइबाट विगतमा आफैँ पीडित भएकाले किन अरूको देशमा सेना पठाउँछन् ? अफ्रिकामा पनि चीनको ठूलो लगानी थियो । त्यहाँको समस्या के हो भने, थालेको काम छिटो नसकिने । अर्को हो, भाषाको समस्या । अफ्रिकी कामदार रहेछन्, आज ज्याला लिने, भोलिदेखि काममा नजाने । त्यसमाथि गर्मी भूभागमा चिनियाँलाई टिक्न गाह्रो । तर, त्यस्तोमा छिनछिनको लामखुट्टे टोकाइ पनि नभनी चिनियाँ कामदारले काम गरे । अफ्रिकी भन्थे, ‘यिनीहरू कि भूत हुन्, कि सेना, कि कैदी हुन् !’
यसबाट नेपालकै मेलम्ची, त्रिशूली, रिङरोडको काममा ढिलासुस्ती भएका कुरामा पाठ सिक्न सकिन्छ । जहाँ–जहाँ चिनियाँ परियोजना बिग्रन्छन्, त्यहाँ–त्यहाँ स्थानीय बासिन्दासँग समस्या हुने गरेको छ, अफ्रिकामा जस्तै । भारतको बिहारबाट चिनियाँ कम्पनीको म्यानेजरले आफ्नो दूतावासमा गएर भने, ‘ठेकेदार त चिनियाँ पायौँ । तर, कामदार पनि उतैबाट ल्याउन पाए हुने !’ समस्या के रहेछ भने, बिहारी कामदार दिनभरि काम गर्ने, काम सकिएर घर जाने बेलामा बेल्चा पायो बेल्चै लिएर हिँड्ने, कोदालो पायो, कोदालै उठाइदिने ! तारदेखि गिट्टी, बालुवा पनि बाँकी नराखेपछि चिनियाँ कम्पनी हैरान भए । अर्काको देशमा विकासका लागि लगानी गर्न जाने, तर व्यवहार नमिलेर भाग्ने ! नेपालसँग चीनको सम्बन्धको अर्को आयाम पनि छ, वनस्पति क्षेत्रमा । सन् १९२० मा चीनबाट बिरुवा लगेर इलाममा चिया उत्पादन सुरु भएको हो । यसरी चीनले निर्धक्कसँग आफ्नोसँगै छिमेकीको विकास र समृद्धिका कथा पनि कोर्ने कुराको एउटा राज हो– कुनै पनि देशको तीव्र आर्थिक विकासका लागि केन्द्रमा बलियो र स्थायी सरकार चाहिन्छ । त्यस्तो सरकार चीनसँग छ । त्यहाँ आत्महत्या, पारपाचुके र रोजगारी समस्या युरोप–अमेरिकाभन्दा ज्यादै कम छ । यो वर्ष त्यहाँका ९० करोड जनता आफ्ना २५ लाख नेता छान्न मतदानमा सहभागी हुँदै छन् ।
अन्तर्राष्ट्रिय कूटनीतिको राम्रो अनुभव हासिल गरेका शान्ति र विकासका निम्ति चिनियाँ प्रतिष्ठानका उपमहासचिव चिफिङ भन्छन्, ‘सबै देशमा प्रजातन्त्रको नाममा एउटै विधिले काम गर्छ भन्ने मान्यता गलत हो । त्यसरी गरिने चुनावले खराब मानिसलाई पनि नेतृत्वमा पु¥याउन सक्छ । खराब नियत भएका मान्छेसँग स्रोत परिचालन गर्ने ध्याउन्न हुन्छ । तिनले टिकट र भोट दुवै किन्छन् ।’ माओको जन्मथलो हुनानमा दुई वर्षअघि विधायकको चुनाव हुँदा भोट किनबेच भयो । अर्थात्, खराब नियतको मान्छेको कामगराइ पनि खराब भयो । त्यसरी निर्वाचित जनप्रतिनिधि बर्खास्तीमा परे । हाम्रो देशमा ठूला दलले आफ्नो पार्टी सदस्य दाबी गर्दा देशको कुल जनसंख्याको ५० प्रतिशत जनता एउटै पार्टीको सदस्य देखिएजस्तो, अर्थात् चार÷पाँच वटा ठूला पार्टीका सदस्य संख्याको हिसाब गर्दा देशको जनसंख्याभन्दा दोब्बर पार्टी सदस्य हुने आँकडामा हामी अभ्यस्त छौँ । तर, ‘कम्युनिस्ट एकाधिकार’ का नाममा आलोचना खेपिरहने चीनले जनतालाई जबरजस्त कम्युनिस्ट बनाइरहेको छैन । कसरी भने, अहिले चीनको कुल जनसंख्या एक अर्ब ३० करोड छ । तर, कम्युनिस्ट पार्टीको सदस्यचाहिँ ८ करोड मात्र । एउटा मान्छे तलैबाट खारिएर नआएसम्म कम्युनिस्ट बन्नै सक्दैन भन्ने मान्यता छ । त्यसरी खारिएका मध्येबाट छानिएको मान्छे नेतृत्वमा ल्याउनुपर्छ भन्ने नीति छ । राज्य चलाउने कुरा खेलाँचीको विषय होइन भन्ने मान्यता त्यहाँको राजनीतिक नेतृत्वले राख्छ । हामीकहाँ जस्तो ‘गरिदिएर’ पुग्ने राजनीति त्यहाँ चल्दैन । राजनीतिमा लाग्ने मान्छे क्षमता र लगानशीलताबाट प्रमाणित भएकै हुनुपर्छ । यस्तै क्षमता र लगनको नेतृत्व भएर होला, अहिले चीनले ‘वन बेल्ट, वन रोड’ को नीति अगाडि सारेको छ । यो महत्वाकांक्षी योजनाले विश्वका ६३ प्रतिशत जनतालाई प्रभावित पार्छ । अर्थात्, चार अर्ब ४० करोड मान्छे प्रभावित हुन्छन् । २ दशमलव १३ बिलियन अमेरिकी डलरको लगानी र विश्व पुँजी बजारको २९ प्रतिशत भूमि प्रभावित हुन्छ, ‘वन बेल्ट, वन रोडबाट’ । उनीहरू प्रतिस्पर्धामा आधारित सहयोगका पक्षपाति छन् ।
विकाससँग भाषा र लिपिको गहिरो सम्बन्ध रहँदोरहेछ । हामी भाषा, संस्कृतिमा जातिअनुसार व्यवस्था गर्न र त्यसका लागि मर्न र मार्नसम्म पछि नहट्ने स्थितिमा छौँ । तर, चीनको कथा फरक हो । मण्डारियन, सांघाई र ग्वाङझाउमा बोलिने भाषा, मकाउ र हङकङमा बोलिने चिनियाँ भाषामा फरक–फरक उच्चारण सुनिन्छ । त्यहाँका मिङ शासक र माओ त्सेतुङले लिपि एउटै बनाइदिए । फलतः जुन पत्रिका जहाँकाले पनि पढ्नसक्ने भए । चीन एकताको सूत्रमा बाँधिनु र विकासको यो स्तरमा पुग्नुमा लिपिको ठूलो महत्व छ । मानव सभ्यताको मुहान इजिप्ट–रोमन भनिन्छ । ती सभ्यता कहाँबाट कहाँ पुगे ? र, आज चीन कहाँ छ ? कारण हो, लिपि । त्यसमाथि अनुशासन, पुस्ता हस्तान्तरण विकासको कारकका रूपमा रहेको छ । हाम्रोमा जस्तो जातीय र धार्मिक समस्या त्यहाँ हुँदै नभएका हैनन् । चीनमा बुद्धधर्मावलम्बी, ताओ धर्मावलम्बी, क्रिस्चियन र मुस्लिमको बसोबास छ । करिव २० करोड जनता बुद्ध धर्म मान्छन् । बेइजिङ र उत्तरपश्चिमी भागमा मस्जिदको सहरै छन् । त्यहाँका ४० करोड जनता मुस्लिम धर्म मान्छन् । विश्वको नवौँ मुस्लिम बहुल देश हो, चीन । सोभियत संघले सबैसँग टालटुले सम्बन्ध राख्दा सन् १९९१ मा मुलुकै विघटनको दुर्गति भोग्यो । चीनले सामाजिक बनोट, अर्थतन्त्र र राजनीतिमा मौलिकता हुनुपर्छ भन्ने मान्यता अवलम्बन गर्दा अहिलेसम्म जात र धर्मका नाममा कुनै वितण्डा मच्चिएको छैन ।
अर्कातिर, नियम कडा भयो भने कसैको केही लाग्दैन । जस्तो कि, थर्मल प्लान्ट, सिमेन्ट र स्टिल उद्योगले कार्बन उत्सर्जन गर्छ । चीनमा ५० लाख कार एक दिनमा दौडन्छन् । आठ वटा रिङरोड बनिसक्यो । कतिपय धुवाँ फाल्ने उद्योग बन्द भइसके । कस्तो मान्यता छ भने, विकासभन्दा पैसा ठूलो होइन । चिनियाँ अधिकारी भन्छन्, ‘मान्छे नै बाँच्न नसक्ने भए भने विकासले मात्रै के गर्नु ?’ चीन अहिले स्टिल, इलेक्ट्रिक सामान, कोइला, सिमेन्ट, कपडा, एयर कन्डिसन, टेलिभिजन, मोटरसाइकल, टेपरेकर्डर, वासिङ मेसिन, अन्न, कटन, मासु, समुन्द्री खानेकुरा (सि फुड), अण्डा उत्पादनको हिसाबले विश्वकै एक नम्बर राष्ट्र हो । जबकि, १९७८ सम्म त्यहाँ उद्योग धन्दा खासै थिएन । कृषिमै सबथोक निर्भर हुने गथ्र्यो । सन् २०१४ मा विश्व अर्थतन्त्रको कुल योगदानमध्ये चीनको भागमा २७.४ प्रतिशत योगदान पर्छ । अमेरिकासँग उसले रेल लैजाने काम थालिसक्यो । त्यसका लागि लाओस, थाइल्यान्ड, मलेसिया र सिंगापुरमा त कामै सुरु भइसक्यो । उसले बंगलादेश, भारतमा बैंक अफ चाइनाको शाखा खोलिसक्यो । नेपालसँग इच्छाशक्ति भए एउटा हिमाल छेडेर रेलमार्ग ल्याउनु कुनै ठूलो कुरा भएन ।
स्रोतः संहिता