रोल्पा, २ भदौ । जिल्ला मालपोत कार्यालयबाट आर्थिक वर्ष २०७२/७३ मा पारित भएका रजिस्ट्रेसनमध्ये करिब २६ प्रतिशत महिलाको नाममा भएको देखिएको छ । आव २०७२/७३ मा कुल पारित रजिस्ट्रेसन चार हजार १३६ मध्ये एक हजार ९४ वटा महिलाको नाममा भएको छ । यस्तै आव २०७१/७२ मा पारित कुल चार हजार ३३१ रजिस्ट्रेसनमध्ये एक हजार १४५ रजिस्ट्रेसन महिलाको नाममा भएको कार्यालयका नासु प्रदीप घर्तिमगरले जानकारी दिए ।
विगतमा घर घडेरी तथा जग्गा मालपोत कार्यालयबाट रजिस्ट्रेसन गर्दा पुरुषको नाममा मात्रै गराउने चलन हुँदा अचल सम्पत्तिमा महिलाको पहुुँच निकै कम देखिएको छ । महिलाको नाममा समेत जग्गा रजिस्ट्रेसन हुनुपर्ने माग उठ्न थालेपछि सरकारले नीति तथा कार्यक्रममार्फत महिलाको नाममा जग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेका कारण जग्गा खरिद गर्दा महिलाको नाममा जग्गा पास गर्ने क्रम बढेको हो ।
यसैगरी आव २०७१/७२ मा दलित र अपाङ्गको नाममा रजिस्ट्रेसनको अवस्था शून्य देखिएको छ भने आव २०७२/७३ मा दलितको नाममा पाँच तथा अपाङ्गको नाममा चारवटा रजिस्ट्रेसन भएका छन् ।
मालपोत कार्यालयले आव २०७२/७३ मा अंशबन्डा ४१०, सट्टापट्टा दुई, अंशभर्पाइ २६२, शेषपछिको बकसपत्र २८, हालैको बकसपत्र १४३, दृष्टिबन्धक २८८ देखिएको छ । यसैगरी नामसारी ६७९, दानपत्र रजिस्ट्रेसन २४ वटा गरेको जनाएको छ । रजिस्ट्रेसनबापत आव २०७२/७३ मा रु एक करोड ६९ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा एक करोड ६० लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको बताइएको छ । रासस