काठमाडौं, ३० साउन । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको रिक्त दरबन्दी पदका लागि ‘माग आकृति फाराम’ भरेर उपलब्ध गराउन आग्रह गरे पनि करिब दुई दर्जन निकायले मात्र फाराम भरेर बुझाएका छन् ।
यही साउन २५ गतेभित्र ५९ मन्त्रालय, संवैधानिक आयोग र अन्य कार्यालयलाई कर्मचारीको रिक्त पदको सूची भरेर पठाउन भनिए तापनि २२ निकायले भरेर पठाएको मन्त्रालयका जनशक्ति विकास शाखा प्रमुख नवराज घिमिरेले जानकारी गराउनुभयो । मन्त्रालयले लोकसेवा आयोगलाई कर्मचारीको रिक्त दरबन्दी र पदको सङ्ख्या जानकारी गराउनका लागि मन्त्रालय, संवैधानिक आयोग र अन्य कार्याललाई ‘माग आकृति फाराम’ भरेर पठाउन आग्रह गरेको थियो ।
मन्त्रालयले सहसचिव, उपसचिव र शाखा अधिकृतका रिक्त दरबन्दीको माग फाराम भरेर पठाउन आग्रह गरेको हो । ‘‘हामीले साउन २५ गतेभित्र तपाईंको निकायमा कति कर्मचारीको पद रिक्त छ भनेर माग आकृति फाराम भरेर पठाउन भनेको थियौँ’’घिमिरेले भन्नुभयो–‘‘तर अहिलेसम्म २२ निकायले मात्र बुझाएका छन् । अब समय थपेर पठाउन ताकेता गर्छौँ।’’ उहाँका अनुसार मन्त्रालयले आगामी भदौ १५ गतेभित्र बाँकी ३७ निकायलाई भरेर पठाउन ताकेता गर्ने र असोज १५ गतेभित्र लोकसेवा आयोगलाई रिक्त दरबन्दी पठाउने तयारी गरेको छ ।
मन्त्रालयले साउनको पहिलो हप्ता रिक्त दरबन्दी पठाउन ती निकायलाई निर्देशन दिएको थियो । अहिलेसम्म ३१ मन्त्रालयमध्ये १७ मन्त्रालयले मात्र माग आकृति फाराम भरेर बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा, अर्थ, परराष्ट्र, भूमिसुधार तथा व्यवस्था, सिँचाइ, जनसङ्ख्या तथा वातावरण, पशुपक्षी विकास, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि, ऊर्जा, श्रम, वन तथा भूूसंरक्षण, उद्योग, महिला, बालबालिका तथा समाजकल्याण, खानेपानी तथा सरसफाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रिक्त पदको दरबन्दी खुलाउँदै माग आकृति फाराम बुझाएका छन् ।
यसैगरि २८ संवैधानिक आयोग र अन्य निकायमध्ये राष्ट्रपति कार्यालय, महालेखा नियन्त्रण कार्यालय, निजामती किताबखाना, निर्वाचन आयोग र जल तथा ऊर्जा आयोगले मात्र माग आकृति फाराम बुझाएका छन् ।
उहाँले अहिले ती कार्यालयबाट प्राप्त दरबन्दी कति छन् भनेर यकिन नगरिएको जानकारी गराए । ‘‘सबैतिरबाट आएपछि कति दरबन्दी खाली छन् भन्ने थाहा हुन्छ’’ उनले भने–‘‘अहिले हामीले निकायबाट पठाएको फाराम मात्र बुझेका छौँ । कहाँ कति खाली भनेर यकिन गरेका छैनौ ।’’
उपसचिव घिमिरेले सबैबाट रिक्त दरबन्दी आइसकेपछि निजामती किताबखानाको अभिलेखसँग तुलना गरेर मन्त्रालयले लोकसेवा आयोगमा दरबन्दी पठाउने जानकारी गराउनुभयो । ‘‘ किताबखानाले तयार पारेको दरबन्दीसँग कतिपय निकायले पठाएको दरबन्दी मेल खाँदैन’’, उनले भने,‘‘त्यसैले किताबखानाको दरबन्दीसँग तुलना गरेर मात्र हामीले लोकसेवा आयोगलाई रिक्त दरबन्दी पठाउँछौ ।’’
मन्त्रालयले आगामी २०७४ असार मसान्तसम्मको अवकाश, राजीनामा र थप गरिएको पदका आधारमा लोकसेवा आयोगलाई रिक्त दरबन्दी पठाएपछि आयोगले मन्त्रालयले पठाएको रिक्त दरबन्दी अनुसार कर्मचारी पदपूर्तिका लागि सूचना निकाल्ने गर्छ । रासस