काठमाडौं २७ साउन। नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान भर्दा सुरक्षा मापदण्ड उल्लंघन गरे लाइसेन्स खारेज गर्ने भएको छ। मापदण्ड मिचेर चलाएमा प्राधिकरणले हेलिकप्टर उडाउने पाइलट र हेलिकप्टर कम्पनीको लाइसेन्स खारेज गर्ने सक्ने निर्णय गरेको हो।
लगातार प्लेन र हेलिकप्टर दुर्घटना परी ज्यानसम्म जाने स्थिति आएपछि यस्तो निर्णय लिएको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए। गत सोमबार फिसटेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा क्याप्टेन सहित सातजनाको मृत्यु भएको थियो।
केसीले प्राधिकरणले मंगलवार उक्त निर्णय गरेको र सवै हवाइ कम्पनीहरुलाई पत्राचार पनि गरिसकेको बताए। प्राधिकरणले हेलिकप्टरका लागि पहिलो पटक यस्तो निर्णय गरेको जनाएको छ।
पाइलटले उड्डयन सुरक्षा मापदण्ड कडा रूपमा पालना गरेको हुनुपर्ने, ‘फ्लाइट डिस्प्याचर’ ले प्रत्येक उडान योजनाअनुसार बनाएर क्याप्टेनलाई जानकारी गराउनुपर्ने, हेलिकोप्टर सेवा प्रदायकले वर्षायामका सबै उडान गतिविधिको समग्र सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको केसीले बताए।
‘हवाइ सुरक्षा उल्लङ्घन गरे चालकदल र कम्पनीको लाइसेन्स खारेज गरिनेछ’ उनले भने ‘घटना र सुरक्षाको प्रकृति हेरेर एओसी समेत खारेज वा रद्द गरिनेछ।’
प्रधिकरणको नयाँ निर्देशन अनुसार पाइलटले सुरुवात देखि गन्तव्यसम्मको बीच बाटोको मौसमबारे पूर्णरूपमा जानकारी लिनुपर्ने व्यवस्था रहेको केसीले बताए। खराब मौसमका कारण उडान गर्न सम्भव भए उडानलाई निरन्तरता दिनुहुँदैन र उपयुक्त कतै ल्याण्ड गरी मौसम सुधार भएपछि मात्र उडान गर्नुपर्ने उल्लेख रहेको उनले जानकारी दिए।