
शिषिर ढुंगाना, महानिर्देशक, भन्सार विभाग
काठमाडौं, २७ साउन । भन्सार विभागले प्रत्येक वर्ष दुई पटक भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गर्दै आएको छ । प्रि बजेट एक पटक र पोष्ट बजेट अर्काे पटक । पोष्ट बजेट अन्तर्गत हामीले भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गरेका छौं ।
भन्सार विभागले कुल राजश्वको ४५ दशमलब ९८ प्रतिशत हिस्सा ओगट्छ । मुलुकमा संकलन हुने मुल्य अभिवृद्धि करमध्ये भन्सारबाटै करिब ६१ प्रतिशत संकलन हुन्छ । अन्तशुल्क पनि ४७ दशमलब ९ प्रतिशत भन्सारबाटै संकलन हुन्छ । गत वर्षको तुलनामा राजश्वको वृद्धिदर १२ दशमलब शुन्य ३ प्रतिशत हासिल गरेका छौं । बिषम परिस्थितीका बिच हामीले राजश्व संकलन लक्ष्यमा करिब ९५ प्रतिशत सफलता हासिल गरेका छौं । व्यापार सहजीकरणका लागि धेरै प्रयासहरु गरिएका छन् ।
एकद्धार सेवा अनुसार सन २०१८ देखि कार्यान्वयन गराउने योजनासहित टेण्डर प्रक्रिया अघि बढिसकेको छ । आयात निर्यातलाई व्यवस्थित गराउने गरि आइई कोडलाई व्यवस्थित गराउने काम भैरहेको छ । यसको कार्यबिधी पनि बनिसकेको छ । १३ वटा कार्यलयको दैनिक कार्य सञ्चालनलाई भन्सार विभाग र अर्थमन्त्रीको कार्यालयबाटै आइपी क्यामेराको सहायताले हेर्न मिल्ने बनाईसकेका छौं ।
यही आर्थिक वर्षदेखि रसुवा लगायतका भन्सार कार्यालयहरुमा अनुगमन,नियमनको नयाँ प्रणाली कार्यान्वयन गराउँदैछौं । सबै कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछौं । न्युन बिजीकरणको समस्या समाधानका लागि प्रयासहरु भैरहेका छन् । त्यसमा न्युनबिजिकरण भएका समानहरुको कानुनतः खरिदका लागि एक अर्ब रुपैंयँँ बजेट नै बिनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा भन्सार विभागले २४६ अर्बको राजश्व लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्नु हाम्रो पहिलो उदेश्य हुनेछ । यो लक्ष्य पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छौ। भन्सार प्रणालीमा सुधार हाम्रो मुल उदेश्य हो । चार बर्षे भन्सार सुधार र आधुनीकीकरण रणनीतीले लिएको उदेश्यबारे पनि छलफल गरिरहेका छौं । १० वटा भन्सार कार्यालयहरुमा कन्टेनर स्क्यानर मेसिन तथा ब्यागेज स्क्यानर मेसिन खरिद गर्दैछौं ।-महानिर्देशक ढुंगानाले दिएको अभिव्यक्तिमा आधारित