काठमाडौं, २७ साउन । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७२/७३ मा ३ अर्ब १ करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५२७ प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७१/७२ मा जम्मा ४८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकले १ अर्ब ७३ करोड रुपैयाँ बराबरको सम्पत्ति बिक्री गरेको र खराब कर्जा असुलीपछि राईट व्याक ६२ करोड रुपैयाँ भएकोले नाफामा उच्च वृद्धि देखिएको हो ।
बैंकको सञ्चालन नाफा पनि उच्च वृद्धि भएको छ । गत आर्थिक वर्षको सञ्चालन नाफा २ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो वर्ष संचालन नाफा ३८ करोड रुपैयाँ मात्र थियो ।
गत वर्ष ३ अर्ब १ करोड नाफा भए पनि नेपाल बैंकका सेयरधनीले लाभांश पाउने छैनन् । यसअघि बैंकको संचित कोष ऋणात्मक रहेकोले गत वर्षको नाफा अघिल्ला वर्षहरुको घाटापूर्तिमा गर्दैमा सकिएकोले बैंकले सेयरधनीलाई लाभांश दिन नसक्ने बैंकका अध्यक्ष जनार्दन आचार्यले बताए ।
‘यो वर्ष सेयरधनीले लाभांश पाउँदैनन्’ आचार्य भन्छन्–आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई लाभांश दिन सकिने आधार तयार भयो ।’ बैंकको गत साधारणसभामा सेयरधनीलाई २०७३ मसान्तसम्ममा संचित कोष धनात्मक बनाउने प्रतिवद्धता गरेको स्मरण गर्दै सेयरधनीसँग गरिएको प्रतिवद्धता पूरा भएको उनले बताए ।
गत वर्षको नाफामा कारण २०६० सालपछि नेपाल बैंकको वासलात पहिलो पटक सकारात्म (पोजेटिभ) भएको छ । अघिल्लो आर्थिक वर्षसम्ममा २ अर्ब ६३ करोड रुपैयाँ संचित नोक्सानमा रहेको नेपाल बैंक यस वर्ष ३८ करोड संचित नाफा (संचित कोष)मा राख्न सफल भएको छ । नेपाल बैंकमा महाप्रबन्ध दुर्गाराज रेग्मीका अनुसार १२ वर्षपछि बैंकको संचित कोष सकारात्मक भएको हो ।
बैंकले असार मसान्तसम्ममा ८९ अर्ब निक्षेप, ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १७ अर्ब रुपैयाँ लगानी गरेको छ । यस बैंकको सेयर पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी ४६ रुपैयाँ रहेको, मूल्य आम्दानी अनुपात १० रुपैयाँ रहेको बैंकले जनाएको छ ।
