काठमाडौं, २६ साउन । एस डेभलमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता भइसकेको २ दिनपछि सेयर कारोवार भएको छ । बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुने र एकले अर्काे खरिद हुने अवस्थामा यस्तो कार्यमा संलग्न संस्थाको सेयर कारोवार यस्तो सम्झौता भएको दिनदेखि नै सेयर कारोवार रोक्ने ब्यवस्था छ ।

गत आइतवार भएको सेयर कारोवारको विवरण नेप्सेको साइटमा यसरी राखिएको छ ।
एस डेभलमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्बन्धि सम्झौता गत शुक्रवार नै भएको थियो । तर शुक्रवार सम्झौता भइसकेपनि गत आइतवार एस डेभलपमेन्ट बैंकको ४ कारोवारबाट ३४३९ कित्ता सेयर खरिद विक्री भएको छ । यस्तो कारोवार नियमत पाइदैन ।
नेपाल स्टक एक्सचेन्जका सहायक प्रवक्ता मुराहरि पराजुली प्राविधिक कारणले यसरी कारोवार भएको बताउछन् । शुक्रवार बेलुका सम्झौता भएपनि आइतवार मात्रै नेप्सेलाई जानकारी आएको र सो कम्पनीको सेयर कारोवार रोक्का भएको जानकारी दिने बेलासम्ममा सो कारोवार भइसकेको उनले बताए ।

गत शुक्रवार एनआइविएलले एस डेभलपमेन्ट बैंक खरिद गर्ने सहमति पत्रमा हस्ताक्षर गर्दै एनआइविएलका अध्यक्ष पृथ्बीबहादुर पाँडे र एस डेभलमेन्ट बैंकका अध्यक्ष योगेन्द्र शाक्य
‘आइतवार सम्झौता भएको पत्र आइपुग्यो, तोक लगाएर आइटि डिपार्टमेन्टसम्म पत्र पुग्दा र आइटी विभागले त्यसको जानकारी ब्रोकरलाई गराउदासम्म कारोवार भइसकेको रहेछ,’ पराजुलीले भने । त्यस्तो कारोवार रद्द गरिने उनको भनाइ छ ।
गत आइतवार एस डेभलमेन्ट बैंकको सेयर प्रतिकित्ता ४४५ रुपैयाँमा कारोवार भएका थियो ।