काठमाडौं २६ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ विस्तारको ठेक्का पाएको स्पेनिस निर्माण कम्पनी सानजोसेले माटो उपलब्ध नभएको भन्दै सरकारसँग साढे दुर्इ अर्ब क्षतिपूर्ति दाबी गरेको छ ।
स्पेनको यो कम्पनीले सन् २०१२ मा प्लेनको पार्किङ विस्तारको लागि ६१ मिलियन डलरमा एयरपोर्टमा थप ९ वटा विमान पार्किङ गर्नका लागि विस्तारको ठेक्का पाएको थियो । कम्पनीले पार्किङ विस्तारको लागि आवश्यक माटो नपाएको भन्दै अहिलेसम्म २० प्रतिशत पनि काम गरेको छैन । काम नगरि कम्पनीले उल्टै सरकारसँग क्षतिपूर्ति मागेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले २० प्रतिशत पनि काम नगरेको कम्पनीले सवा दुर्इ अर्ब रुपैयाँ क्षतिपूर्ति मागेको जानकारी दिए । प्राधिकरणले विमानस्थलको उत्तरी भागमा थप ९ वटा अन्तराष्ट्रिय स्तरका प्लेन पार्किङ स्थल बनाउन ठेक्का दिएको थियो । हाल विमानस्थलमा ९ वटामात्र ठूला प्लेन पार्किङ गर्न मिल्छ।
यो पार्किङ स्थल निर्माण भइसकेपछि १८ वटा विमान पार्किङ गर्न मिल्नेछ। तर कम्पनीले गत बर्ष आएको विनासकारी भूकम्प र भारतको अघोषित नाकाबन्दीलार्इ समेत बहानावाजी बनाउँदै कामलाई अगाडि बढाएको छैन। अहिले भइरहेको स्थानमा २२ मिटर अग्लो बनाउनुपर्छ ।विमानस्थल नजिकै रहेको पशुपति क्षेत्र विकास कोषबाट माटो ल्याउने भनिएपनि विश्व सम्पदा सूचीमा रहेकाले माटो पाउन नसकेको कम्पनीको दाबी छ ।