आइपिओ र राइट सेयरको प्रिमियम मुल्य तोक्नु अनिवार्य भैसक्योः डा. गोपाल भट्ट

<p>स्टक मार्केटमा तल माथी हुनु स्वभाविक नै हो । यसमा धेरै चिन्ता गर्नुहुन्न । निरन्तर बढ्ने र निरन्तर घट्ने बजार त बजार नै होइन् । बजार तलमाथी भएन भने दुर्घटना हुन्छ । नेपालमा किन्ने, होल्ड गर्ने र बेच्ने चलन छ । तर अरु देशमा तुरुन्तै किनेर बेच्ने प्रणाली पनि छ । बजार बढेर मात्रै नाफा [&hellip;]</p>

dr gopal bhatta

डा. गोपाल भट्ट, निर्देशक, नेपाल राष्ट्र बैंक

स्टक मार्केटमा तल माथी हुनु स्वभाविक नै हो । यसमा धेरै चिन्ता गर्नुहुन्न । निरन्तर बढ्ने र निरन्तर घट्ने बजार त बजार नै होइन् । बजार तलमाथी भएन भने दुर्घटना हुन्छ । नेपालमा किन्ने, होल्ड गर्ने र बेच्ने चलन छ । तर अरु देशमा तुरुन्तै किनेर बेच्ने प्रणाली पनि छ । बजार बढेर मात्रै नाफा हुँदैन त्यस्तो बजारमा बजार घट्दा पनि नाफै हुन्छ । घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानी कर्तालाई फाइदा नै हुन्छ ।

तर हामी कहाँ बजारको नियम नै छैन् । न ब्रोकर नियममा चल्न चाहान्छन, न नियमनकारी निकायमै पनि त्यो स्तरको ज्ञान देखिन्छ, न लगानी कर्ता नै परिपक्क अवस्थामा छन् । अहिलेको बजारप्रति अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक कोहि पनि नकारात्मक छैनन् ।

अहिले बजारमा पैसा ज्यादै छ, तरलता धेरै छ । सेयर बजारको डिमाण्ड बढेकाले पनि त्यो पुष्टि गर्छ । नेपालमा सूचनामा आधारित सेयर बजारको विकास पनि भैरहेको छ । पहिले पहिले मौद्रिक नीति प्रति सेयर बजार सजग रहन्थ्यो तर अहिले त्यसले खासै प्रभाव पार्ने गरेको छैन् । त्यसपछि राजनीतिक उतारचढावमा बजार निर्भर बन्दै गरेको थियो । संबिधानका नाममा बजार तलमाथी भयो, नाका बन्दीका नाममा, आन्दोलनका नाममा, सरकार परिवर्तनका नाममा पनि बजारमा उतारचढाव आईरह्यो ।

अहिले फेरी तरलताका कारण बजार बढिरहेको छ । बजारमा पैसा आयो तर लगानीका विकल्पहरु भएनन् । बैंकको ब्याजदर पनि कम भयो । त्यसकारण धेरै क्षेत्रबाट सेयर बजारमा पैसा लगानी भैरहेको छ । बजारमा वैध लगानी आएको हो भने बजारको उतारचढाव स्वभाविक नै हो । कालोधन हो भने सम्बन्धीत निकायले छानविन गर्नुपर्छ । बजार निरन्तर उकालो चढेको थियो भने जोखिम हुने थियो । अहिले तलमाथी भैरहेको छ, त्यसले बजारमा क्रमशः परिपक्कता आईरहेको भन्ने बुझाउँछ । यसैगरि बजारलाई परिपक्क बनाउने हो ।

नेपालको सेयर परिसूचकको उच्चतम बिन्दु कति हो भनेर निरक्र्यौल गर्ने आधार छैन् । कुनै पनि सिद्धान्तले बजारको उच्चतम बिन्दु यति हो भनेर भन्ने अवस्था छैन् । बजार भनेको लगानी कर्ताको इच्छाशक्तिले निर्धारण गर्ने हो । बजारमा उपलब्ध सूचनाले पनि बजार निर्धारणमा सहयोग गर्छ । त्यससँगै बजारमा रहेको तरलताले पनि भूमिका खेल्छ ।

नेपालमा बजार बढ्दा पनि रुवाबासी हुन्छ अनि घट्दा पनि रुवाबासी नै हुन्छ । यस्तो दुनियामा कहिँ पनि हुँदैन् । नियामक निकायले पनि बजार घट्दा पनि तनाब लिएको देखिन्छ अनि बजार बढ्दा पनि तनाबै लिएको देखिन्छ । यस्तो पनि कहिँ हुन्छ ? नियामक निकाय बजार उकालो लागेन भने पनि रुने अनि बजार उकालो चढ्दा पनि रुने ? बजारमा समस्या छन भने करेक्सन गर्नु पर्छ । मलाई लाग्छ नेपालको बजारमा सुधार्नु पर्ने धेरै कुराहरु छन् ।

कहाँ कहाँ छन समस्या ?
संसारमा कहि नभएको मार्जिन ल्याण्डिङको व्यवस्था हामी कहाँ छ । नेपाल राष्ट्र बैंकले अरु देशमा प्रयोग भएको मार्जिन ल्याण्डिङ शब्दलाई बटारेर मार्जिन टाइप ल्याण्डिङ भन्ने गरेको छ । वास्तवमा मार्जिन ल्याण्डिङ शिर्षकमा बैंकहरुले सिधै लगानी कर्तालाई ऋण दिने होइन । अन्तराष्ट्रिय अभ्यासमा पनि त्यस्तो व्यवस्था कहिँ छैन नेपालमा मात्रै हो । बैंकहरुले पनि ऋण प्रवाह गर्ने अरु कुनै ठाउँ नभएपछि सेयरको प्रमाण पत्र धितो राखेर खुरुखुरु ऋण प्रवाह गरिरहेका छन् । यसको नियमन पनि राम्रोसँग भैरहेको छैन किन की त्यसको रेकर्ड गर्ने व्यवस्था पनि खासै राम्रो छैन् ।

मार्जिन ल्याण्डिङको अन्तराष्ट्रिय अभ्यास भनेको ब्रोकर कम्पनीलाई ऋण दिने हो । ब्रोकर कम्पनीले लगानी कर्ताको एकाउण्ट राख्ने र लगानी कर्ताको सेयरका आधारमा ब्रोकर मार्फत बैंकले लगानी गर्ने हो र त्यसमा केहि हिस्सा ब्रोकरको पनि हुन्छ । सारमा भन्ने हो भने मार्जिन ल्याण्डिङको अन्तराष्ट्रिय अभ्यास भनेको ब्रोकर कम्पनीलाई ऋण दिने हो सिधै लगानी कर्तालाई होइन् । बिडम्बना हामी सिधै लगानी कर्तालाई दिईरहेका छौं । यसले नियमनमा पनि समस्या आईरहेको छ । यो बिषय केन्द्रिय बैंकले नियमन गर्ने पनि होइन धितोपत्र बोर्डले नियमन गर्ने हो ।

हामीले अमेरिकाबाट मार्केट इकोनोमी भित्र्यायौं तर सिस्टम चाँही ल्याएनौं । अमेरिकी मार्केट इकोनोमी भित्र्याएर आफ्नै सिस्टममा चल्छौं भनिरहेका छौं यसले दुर्घटना निम्त्याउँछ । मार्जिन ल्याण्डिङमा केन्द्रिय बैंकले इनिसियल मार्जिन तोक्नुपर्छ, धितोपत्र बोर्डले मेन्टिनेन्स मार्जिन तोक्नु पर्छ, त्यसपछि मार्जिन कलका लागि के के गर्ने भन्ने कुरा आउँछ । अनि मात्रै ब्रोकर र लगानी कर्ताको काम आउँछ । अहिले त कहाँको पैसा कहाँ गैरहेको छ । त्यसैले कालो र सेतो लगानीको कुरा उठेको हो ।

बैंकको प्रभुत्व कहिलेसम्म ?
दोश्रो कुरा भनेको नेपालको सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको प्रभुत्व छ । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई पुँजी बढाउ भन्यो । त्यो भनेको सेयर बजार उकालो लगाउन होइन् । यसको उदेश्य भनेको अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धी बैंक तथा वित्तिय संस्थाको निर्माण हो । हामी विश्व बैंकका सदस्य छौं, त्यसले तोकेको मापदण्ड पुरा गर्न पुँजी बढाउन खोजिएको हो । बैंक तथा वित्तिय संस्थाको क्षमता बढाउन र नियमन सहज बनाउन केन्द्रिय बैंकले पुँजी बढाउने योजना ल्याएको थियो तर नेपालको पुँजी बजारले त्यसलाई अर्कै अर्थ लगायो । हकप्रद सेयर र बोनस सेयर आउँछ भनेर बजार बढ्यो ।

कहि नभाएको जात्रा हाँडी गाउँमा
हकप्रद र बोनस सेयरले कम्पनीको रिटर्न बढ्छ भनेर मैले कहिँ पढेको छैन् । यसले त झन रिटर्न घट्ने हो । संसारका कुनै पनि मुलुकमा हकप्रद सेयर र बोनस सेयरका कारण पुँजी बजार बढ्दैन् । त्यसले उल्टै सेयरको मुल्य घट्छ । नेपालमा त हकप्रद र बोनसले सेयरको मुल्य बढाईरहेको छ । त्यसको कारण भनेको स्ट्रक्चरल मिस्टेक हो ।

हामी कहाँ नयाँ इस्यु गर्ने सेयरको मुल्य एक सय रुपैंयाँ तोकिन्छ । आइपिओ, एफपिओ वा हकप्रद सेयरमा मुल्य तोक्ने संरचनै गलत छ । गर्यो भने हुन्छ भन्ने नजिर नेपाल टेलिकमले बसालेको छ । जस्तो उसले सुरुमै सात सय रुपैयाँमा सेयर निष्काशन गर्यो । हामी कहाँ बजारमा २२ सय, २५ सय देखि ३ हजारमा सेयर बिक्रि भैरहेका हुन्छन् । हकप्रद जारी गर्ने वित्तिकै त्यो एक सय रुपैंयाँमा प्राप्त हुन्छ । यस्तो व्यवस्था नेपालमा बाहेक संसारमा कहि पनि छैन र यस्तो सिद्धान्त पनि कहिँ छैन् ।

अब बजारमा यस्तो मुल्य निर्धारणको व्यवस्था हटाउनु पर्छ । हकप्रद सेयर र बोनस सेयर आएपछि बजार ह्वारह्वार्ती बढ्छ किन ? किनकी मुल्य निर्धारणमा गम्भिर त्रुटि छ । यस्तै कारणहरुले बजार अपरिपक्क भएको हो । अब हामीले पनि साधारण सेयर(आइपिओ), हकप्रद सेयर(राइट सेयर) र एफपिओ(फर्दर पब्लिक इस्यु) सबैमा प्रीमियम मुल्य अनिवार्य गर्नुपर्छ ।

रियल सेक्टर कहिले ?
नेपालको पुँजी बजारमा बैंक तथा वित्तिय क्षेत्रको दबदबा कायम छ । जबसम्म रियल सेक्टर(उत्पादनमुलक क्षेत्र)ले पुँजी बजारमा ठुलो हिस्सा ओगट्दैन तबम्म बजार परिपक्क हुँदैन् । पुँजी बजारलाई अर्थतन्त्रको प्रतिबिम्बका रुपमा स्थापित गराउन पनि रियल सेक्टरलाई अघि ल्याउनु पर्छ । बरु त्यसका लागि रियल सेक्टरलाई अनुदान दिनुपर्छ । जब पुँजी बजारको ठुलो हिस्सा रियल सेक्टरले ओगट्छ तब मात्रै पुँजी बजारले अर्थतन्त्रको प्रतिनिधित्व गर्न सक्छ ।

ब्रोकरलाई अनावश्यक भूमिका
नेपालमा ब्रोकरको भूमिका पनि अलि बढि भयो । ब्रोकरको काम भनेको जम्मा लगानी कर्ताको अर्डर लिने मात्रै हो । तर यहाँ त ब्रोकरसँग नै लगानीको सल्लाह माग्ने गरिएको छ अनि ब्रोकरले पनि सल्लाह दिईरहेका छन् । ब्रोकरसँग लगानीको सल्लाह माग्नु पनि र ब्रोकरको लगानीका लागि सल्लाह दिनु दुबै गलत हो । यसले इनसाइडर ट्रेडिङको सम्भावना पनि बढेको छ । पोर्टफोलियो मेनेजर, संस्थागत लगानी कर्ता अलि बढि खोज्नु पर्यो । उनीहरुले लगानी कर्तालाई सल्लाह दिने र लगानीको व्यवस्थापन गरिदिनु पर्छ । फेरी पनि मेरो मान्यता स्पष्ट छ, आइपिओ र राइट सेयरको फ्री प्राइसिङ अनिवार्य भैसकेको छ ।(राजधानीमा आयोजीत एक कार्यक्रममा भट्टले व्यक्त गरेको निजी विचार)

Share News