
अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक, हाथवे इन्भेष्टमेन्ट लिमिटेड
हाथवे इन्भेष्टमेन्ट कम्पनी विगत लामो समयदेखि नै सेयर बजारको सक्रिय लगानीकर्ताका रुपमा रहेको छ । हामीले राम्रो नाफा कमाएका छौं र पोर्टफोलियो पनि राम्रो छ । हामी पुँजी बजारबाट बहिर्गमन भएका छैनौं । असार मसान्तभन्दा आजको मितिमा मैले २५ देखि ३० प्रतिशत भन्दा बढी सेयर किनिरहेको छु । म के मान्यतामा विश्वास राख्छु भने अहिले नेपालको पुँजी बजार हिजोको अवस्थामा जस्तो छैन् । २१/२२ बर्षको मेरो अनुभवमा पुँजी बजारमा तीन/चार वटा उचारचढाव व्यहोरेको छु । पुँजी बजारमा आरोह अवरोह आउन तीन/चार वटा फ्याक्टरले काम गरेको हुन्छ । तर अहिलेको अवस्थामा त्यस्तो कुनै पनि फ्याक्टर देखा परेको छैन् ।
पहिले बजार घट्दा देखापरेका कुनै पनि कारण अहिलेको बजारमा देखापरेका छैनन् । त्यसकारण पुँजी बजार घट्नु पर्ने अवस्था छैन् । पहिले बजार घट्दा बजारमा तरलता अभाव भैसकेको थियो । बैंक तथा वित्तिय संस्थाको परफरमेन्स घट्दो अवस्थामा थियो । कतिपय वित्तिय संस्था त खारेजीमा लैजानु पर्ने भैसकेका थिए । त्यस नतिजाका रुपमा पुँजी बजार विस्तारै घट्दै गएको थियो ।
हिजो र आजको तुलना गर्दा आज प्रत्येक बैंक तथा वित्तिय संस्थाको ग्रोथ विगत वर्षको भन्दा धेरै राम्रोसँग वृद्धि भएको देखिन्छ । हामीले गत वर्ष ठूलो भूकम्प र नाका बन्दी खेप्यौं । तै पनि कम्पनीहरुको परफरमेन्स राम्रो छ । भवितव्य भूकम्प त आउला तर नाकाबन्दी त अब हुने छैन । हामीले आजको दिनमा हेर्दा निकट भविष्यमै त्यति ठूलो संकट आउने सम्भावना देखिन्न । भूकम्प र नाका बन्दीका बावजुद बैंक तथा वित्तिय संस्थाहरुको बिजनेश ३० देखि ४० प्रतिशतसम्म बढेको छ । यो बर्ष कति बढ्ला हामीले नै अनुमान गर्न सक्छौं ।
अर्काे कुरा भनेको अहिले बैंक तथा वित्तिय संस्थाहरुसँग पर्याप्त मात्रामा तरलता छ । हिजो बैंक तथा वित्तिय संस्थाहरु सेयरको सर्टिफिकेट देख्दा डराउँथे । अहिले कोसँग सेयरको सर्टिफिकेट छ भनेर खोजेर हिडिरहेका छन् । अनि हामी किन डराउने ?
विगतमा बैंक तथा वित्तिय संस्थाहरुको संख्या पनि बढ्ने र सेयर संख्या पनि बढ्ने क्रम थियो । तर अहिले बैंक तथा वित्तिय संस्थाहरु पनि मर्ज हुने क्रम बढेको छ । हिजो एक सय कित्ता सेयर हुनेहरुको सेयर संख्या अहिले मर्ज भएर घट्दै ५० कित्तामा झरेको छ । बोनस र राइट सेयरले सेयर संख्या बढ्यो भन्ने भन्दा पनि समग्र बजारमा कति कित्ता बढ्यो भनेर हेर्नु पर्छ । सेयरको संख्या घटेकै देखिन्छ ।

मार्जिन ल्याण्डिङको ऋण लिएर सेयरमा लगानी गर्नेहरुको संख्या निकै कम देखिन्छ । यो कसैले पनि कल्पनासम्म गरेका थिएनन् । नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कम मात्रामा ऋण गएको सेयर बजारमा मात्रै हो अन्यत्र धेरै गएको छ । अहिले सेयर बजारमा भएको लगानी सबै रिजर्भ बेस र सेभिङ बेसका लगानीकर्ताको हो । ऋण लिएर लगानी गर्नेहरुको संख्या कम छ । नेपालमा सेयर बजार पहिलो क्षेत्र हो जहाँ ५० प्रतिशत महिलाहरुको सहभागीता रहेको छ । अरु क्षेत्रमा नियम बनाएर आउनुस भन्दा पनि महिलाहरुको सहभागीता कम छ, पुँजी बजारमा स्वतः ५० प्रतिशत भन्दा बढिको उपस्थिती छ । महिलाहरु जहिले पनि राम्रो बुझेर लगानी गर्नुहुन्छ । ऋण लिएर भन्दा पनि बचत गरेको पैसा लगानी गर्नुहुन्छ । त्यसकारण पनि अहिले सेयर बजार जोखिममा छैन् ।
सात/आठ बर्ष पहिलेसम्म एउटा ब्रोकर कहाँ जम्मा २० देखि २५ जना लगानी कर्ता हुन्थ्यौं । आज एउटै ब्रोकर कहाँ दुई तीन सय लगानी कर्ता झुम्मिरहनु भएको छ । घरैबाट डिजिटल माध्यमबाट लगानी गर्नेको संख्या पनि बढेको छ । लाखौं लाख लगानी कर्ता थपिएका छन् । पहिले पहिले प्लेयरले बजार घुमाए भन्ने सुनिन्थ्यो । अहिले बजारमा कोहि पनि प्लेयर छैनन् । लाखौं लगानी कर्ता थपिएका छन् । आज सबै लगानी कर्ता बजारका प्लेयर हुन् । बजार माग र आपुर्तिका सिद्धान्तका आधारमा अघि बढेको छ । त्यसैले नेप्से परिसूचक २९२ बाट १८ पुग्दा पचासौं पटक इन र आउट भएको छ ।
पछिल्लो चार दिनदेखि बजारको प्राकृतिक नियमलाई तोडमोड गरेर बजार घटाउने चलखेल भैरहेको छ । बजारमा साना र ठुला लगानी कर्ताको चर्चा चलाईएको छ । लगानी कर्ता साना र ठुला हुँदैनन् । कसैले आफुसँग भएको दुई लाख रुपैंयाँ सबै सेयर बजारमा लगानी गर्यो भने उसलाई साना लगानीकर्ता भन्न मिल्छ ? मेरो विचारमा ऊ सबै भन्दा ठूलो लगानीकर्ता हो । आफुसँग भएको कुल नेटवर्थ नै बजारमा लगानी गर्नेलाई साना लगानी कर्ता भन्न मिल्दैन् ।
अर्काे कुरा धन पनि कालो र सेतो हुन्न । श्रोत मात्रै कालो र सेता हुन सक्छ तर धन आफैंमा कालो र सेता हुनै सक्दैन् । के हो कालो धन भनेको ? मैले त कालोधन देखेकै छैन् । सेयर बजार कालो धन लगाउने ठाउँ हो र ? फेरी कालोधन र सेतो धन कुन हो भनेर छानविन गर्ने अधिकार पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको होइन् । कालोधन को अनुसन्धान गर्ने सम्पति सुद्धिकरण विभागले हो । राजश्व अनुसन्धान विभाग पनि छ, अख्तियार पनि छ । यी निकायले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर कालोधनको छानविन गर्न सक्छन् ।
बोर्डले इनसाइडर टे«डिङ, खरिद प्रक्रिया मिलेको छ की छैन भनेर हेर्ने हो । बोर्डले अरु तरिकाबाट पुँजी बजारलाई अतिरञ्जित बनाउने र लगानी कर्तालाई हतोत्साहित गर्न पाउँदैन् । मेरो निष्कर्ष के हो भने पुँजी बजार हिजोको भन्दा धेरै सुरक्षित छ । कम्पनीहरुको छनौट लगानी कर्ताले राम्रोसँग गर्नु पर्छ । ब्यालेन्ससिट हेर्ने, गत वर्षको अवस्था, अहिलेको अवस्था, भावी अवस्था के हुन सक्छ भनेर हेर्ने अनि लगानी गर्ने हो ।
केहि नबुझी लगानी गर्ने हो भने त जुवाको खाल छँदै छ नी । पुँजी बजार त सूचनाको बजार हो । सबै कुरा बुझेर विवेक सम्वत ढंगले लगानी गर्नुपर्छ । आजको दिनमा नेपालको पुँजी बजार सुरक्षित छ । यो विन्दुको पुँजी बजार भनेको नेपालका सन्दर्भमा ठिकै हो । तरलता, न्युन ब्याजदर र लगानीको उपयुक्त विकल्प नभएकाले यो अवस्थामा पुँजी बजार लगानीको उपयुक्त क्षेत्र हो र यो लगानीको उपयुक्त समय पनि हो ।
(सेयर लगानीकर्ता संघको घोषणा सभामा पौडेलले व्यक्त गरेको विचार)