काठमाडौं, १९ साउन । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज र सीडिएस एण्ड क्लियरिङ हाउसलाई सिष्टम अडिट (प्रणाली लेखापरीक्षण) गर्न निर्देशन दिएको छ । सेयर कारोबारलाई सुरक्षीत र नियमित बनाउनको लागि सेयर कारोबार प्रणालीको अवस्थाको विस्तृत अध्ययन गरी आवश्यक सुधार गर्न बोर्डले निर्देशन दिएको हो ।
बोर्डले दुबै संस्थालाई यसै साता सो निर्देशन जारी गर्दै बोधार्थ अर्थमन्त्रालयलाई समेत पठाएको छ । सिस्टम अडिट गराउन बोर्डले दिएको निर्देशन नेप्सेले मंगलबार प्राप्त गरेको नेप्सेका सहायक प्रवक्ता मुरारी पराजुलीले बताए ।
नेपाल स्टक एक्स्चेञ्जले २०६४ सालमा स्टल गरेको प्रविधि (सफ्टवेयर) प्रयोग गर्दै आएको छ । त्यतिबेला दैनिक ४० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कारोबार हुने गरेको थियो । हाल दैनिक २ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुन थालेको छ ।
सीडिएस एण्ड क्लियरिङ हाउसले २०६८ सालमा प्रयोग गरेको प्रविधि प्रयोग गर्दै आएको छ । त्यतिबेला दैनिक १० करोडको सेयर कारोबार हुने गरेको थियो ।
पहिला दैनिक ३ घण्टा सेयर कारोबार हुने गरेकोमा अहिले दैनिक ४ घण्टा कारोबार हुदै आएको छ । सम्बन्धित संस्थाहरुले प्रयोग गरेको प्रविधि पुरानो हुँदै गएको, कारोबार बढ्दै गएकोले सिस्टम अडिट जरुरी देखिएको धितोपत्र बोर्डको भनाई छ ।
कम्पनी सञ्चालन गर्दा जनशक्तिको सट्टा प्रविधिको प्रयोग बढ्दै गएपछि आर्थिक लेखापरिक्षणको साथै प्राविधिक पक्षको पनि लेखापरिक्षण गर्ने अभ्यास संसारभर बढ्दै गएको छ । ठूलो कारोबार गर्ने संस्थाहरुले सिष्टम अडिटलाई उच्च प्राथमिकता दिने गरेका छन् ।
नेपालमा पनि वाणिज्य बैंकहरुले सिस्टम अडिट गर्ने अभ्यास शुरु भईसकेको छन् । तर नेप्से र सीडिएस कम्पनीले अहिलेसम्म सिष्टम अडिट गराएका छैनन् ।
कम्पनीको आर्थिक हिसाव कितावको लेखापरिक्षण चाटर्ड एकाउण्टेन्टले गर्छन भने सिस्टम अडिट इन्जिनियरले गर्ने गर्छन् । सिस्टमले राम्रोसँग काम गरेको छ छैन, सिस्टमले गल्ती देखिएको छ कि छैन भन्ने तथ्यहरु इन्जिनियर्सले पत्ता लगाउने छन् र सिस्टममा सुधार वा आवश्यक परिवर्तनको लागि उचित सुझाव दिन्छन् ।