गत वर्ष झण्डै ७ रुपैयाँले महंगियो डलर, ५ वर्षमा नेपाली मुद्रा २५ रुपैयाँभन्दा बढीले अवमूल्यन

<p>काठमाडौं, १७ साउन । विगत ५ वर्षमा नेपाली मुद्रा अमेरिकी डलरसँगको तुलनामा २५ रुपैयाभन्दा बढीले अवमूल्यन भएको छ । आर्थिक वर्ष २०६८/६९ देखि गत आर्थिक वर्ष २०७२/७३ सम्ममा नेपाली मुद्राको तुलनामा अमेरिकी डलर २५ रुपैयाँ १९ पैसाले महंगिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले नै यस्तो देखाएको हो । विश्वभरी नै अमेरिकी डलरको [&hellip;]</p>

काठमाडौं, १७ साउन । विगत ५ वर्षमा नेपाली मुद्रा अमेरिकी डलरसँगको तुलनामा २५ रुपैयाभन्दा बढीले अवमूल्यन भएको छ । आर्थिक वर्ष २०६८/६९ देखि गत आर्थिक वर्ष २०७२/७३ सम्ममा नेपाली मुद्राको तुलनामा अमेरिकी डलर २५ रुपैयाँ १९ पैसाले महंगिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले नै यस्तो देखाएको हो । विश्वभरी नै अमेरिकी डलरको माग र संचिति बढेको, पेट्रोलियम पदार्थको मूल्य निकै कम भएको, विश्व सेयर बजार कमजोर बनेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बनेका कारण नेपाली मुद्राको अवमूल्यन भएको हो ।

नेपालले भारतीय मुद्रा (भारु) १ रुपैयाँ बराबर नेपाली मुद्रा १ रुपैयाँ ६० पैसा हुने गरी विनिमय दर निश्चित (पेग) गरेको छ । यसैकारण अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर हुदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६८/६९ मा अमेरिकी डलरको औसत बार्षिक विनिमय दर १ डलर बराबर ८१ रुपैयाँ २ पैसा थियो । यस्तै आर्थिक वर्ष २०६९/७० मा अमेरिकी डलरको औसत विनिमय दर झन्डै ७ रुपैयाँले बढेर ८७ रुपैयाँ ९६ पैसा पुगेको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा भने डलरको विनिमय दर सामान्य रुपमा मात्रै बढेको छ । सो आर्थिक वर्षमा अमेरिकी डलरको बार्षिक औसत विनिमयदर १ डलर बराबर ९८ रुपैयाँ २५ पैसा पुगेको थियो ।

आर्थिक बर्ष २०७१/७२ मा अमेरिकी डलरको विनिमय दर सामान्य रुपमा मात्रै बढेको पाइएको छ । सो आर्थिक बर्षमा अमेरिकी डलरको बार्षिक औसत विनिमयदर १ अमेरिकी डलर बराबर ९९ रुपैयाँ ४९ पैसा थियो । सो आर्थिक वर्षमा अमेरिकी डलर नेपाली मुद्राभन्दा १ रुपैयाँ २४ पैसाले मात्रै महंगिएको थियो ।

गत आर्थिक वर्ष २०७२/७३ मा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य निकै महंगिएको छ । गत आर्थिक वर्षको ११ महिना अर्थात असार मसान्तसम्ममा अमेरिकी डलरको औसत विनिमय दर १ अमेरिकी डलर बराबर १०६ रुपैयाँ २१ पैसा छ । यो ११ महिनाको अवधिमा अमेरिकी डलरको औसत विनिमय दर ६ रुपैयाँ ७२ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अमेरिकी डलर सवैभन्दा महंगो गत आर्थिक बर्षको मार्च महिनामा भएको थियो । सो महिनामा नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर १०८ रुपैयाँ ५२ पैसामा किनेको थियो भने १०९ रुपैयाँ १२ पैसामा विक्री गरेको थियो । गत बर्षको मार्च महिनाको औसत विनिमय दर १ अमेरिकी डलर बराबर १०८ रुपैयाँ ८२ पैसा थियो ।

Share News