काठमाडौं, १६ साउन । गत आथिक वर्ष २०७२/७३ मा रू.२४ अर्ब ७ करोड ४४ लाखको बहुमूल्य धातु तथा पत्थरको आयात भएको छ । उक्त आयात अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २४ प्रतिशत कम हो । अघिल्लो आवमा रू.३१ अर्ब ७७ करोड ७२ लाखको यस्ता बहुमूल्य धातु तथा पत्थर आयात भएको थियो ।

आयात भएका वस्तुहरुमध्ये रू.१६ अर्ब ७ करोड ९५ लाखको सुन हो भने रू.७ अर्ब १२ करोड २१ लाखको चाँदी र रू.८७ करोड २८ लाखको हिरा हो । अघिल्लो आर्थिक वर्षको तुलना सुनको आयात करिब ६ गुणाले बढे पनि चाँदीको आयात भने पोहोरको तुलनामा १ तिहाइ मात्रै छ ।
अघिल्लो आवमा रू.२४ अर्बको ६९ करोडको चाँदीमात्र आयात भएको थियो । सुनको तुलनामा चाँदी अत्यन्तै सस्तो भएपनि छिमेकी मुलुकमा जति पनि चाँदी खपत हुन थालेपछि सो वर्ष नेपालमा ४ लाख ३३ हजार ३ सय ७६ केजी चाँदी नेपाल भित्रएको थियो । नेपाली व्यवसायीहरूले भारतबाट आयात गरेका वस्तुको भुक्तानी चाँदीबाट गर्न थालेपछि सो वर्ष अत्यधिक चाँदीको आयात भएको थियो । भारतीय बजारमा चाँदी जान छाडेपछि गत आवमा १ लाख ४० हजार ३ सय ११ किलोमात्र चाँदी आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
चाँदीको आयातमा कमी आएपनि पछिल्ला वर्षहरुमा नेपालमा विलासी वस्तुहरूको खपत वर्षेनि बढ्दै गएको सुनचाँदी व्यवसायी बताउँछन् । त्यस्ता वस्तुको खरीदमा ठूलो धनराशी विदेशिने क्रम पनि बढेको छ । औपचारिक रूपमा भन्सार नाका भएर नेपाल भित्रिएको सुन, चाँदी, हीरालगायतका बहुमूल्य धातु र पत्थरहरूको तथ्याङ्कले व्यवसायीको भनाईलाई पुष्टि गरेको छ ।
औसत खर्चयोग्य आयमा आएको सुधार, समाजका केही समूहको आर्थिक हैसियतमा भएको परिवर्तन र त्यस्ता वस्तुहरूको मूल्यमा भएको कमीका कारण आयातको आकार बढेको जानकारहरूको बताउँछन् ।

शिशिर ढुङ्गाना
विलासी वस्तुको आयातसँगै त्यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा पनि वृद्धि भएको छ । गत आवमा सरकारले सुन, चाँदी, हीरालगायतका वस्तुहरूको आयातबाट रू. २ अर्ब ५३ करोड ७९ लाखको राजस्व सङ्कलन गरेको विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । सङ्कलित राजस्व अघिल्लो आवको तुलनामा करीब ११ प्रतिशतले कम हो । गत आवको चैत र असारमा सुननै आयात भएको त्यसले गर्दा पनि राजस्वमा असर परेको विभागले बताएको छ ।
बहुमूल्य धातु तथा पत्थर आयातले सरकारी राजस्व बढ्न सहयोग गरे पनि ८० हजार ९ सय औसत प्रतिव्यक्ति राष्ट्रिय आय भएको देशमा वर्षेर्नी यति ठूलो रकमको बहुमूल्य धातु तथा पत्थरजस्ता विलासी वस्तुमा खर्च हुनु राम्रो नभएको अर्थशास्त्रीहरू बताउँछन् । ‘यसबाट वार्षिक ठूलो धनराशी अनुत्पादक क्षेत्रमा थन्किएको स्पष्ट हुन्छ । यो धनराशी उत्पादनमूलक क्षेत्रमा लगाउन सके देशले आर्थिक विकासमा ठूलै टेवा पुग्ने र आम जनताको जीवनस्तरमा सुधार आउने थियो ।
सुनलाई नगदजस्तै तरल सम्पत्तिका साथै लगानीको साधनका रूपमा लिएर वर्षैपिच्छे यसको सञ्चय बढाउने प्रवृत्तिले पनि त्यस्ता वस्तुहरूको आयात बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘सुनचाँदीलगायतका बहुमूल्य धातुहरूको प्रयोग हिन्दूहरूको सामाजिक रीतिरिवाज र धर्मसंस्कृतिसँग जोडिएकाले पनि त्यस्ता वस्तुहरूमा आकर्षण बढेको हो,’ उनले भने ।
बैङ्कमा पौने ४ सय किलो सुन थुप्रियो
बैङ्कमा ३ सय ७१ ग्राम सुन थन्किएको र चैत तथा असार महीनामा सुननै आयात नभएपछि आइतवार भन्सार विभागमा बैठक बसेको थियो । बैठकमा नेपाल राष्ट्र बैङ्क, राजस्व अनुसन्धान विभाग तथा सुनचाँदी व्यवसायीसँग गरिएको छलफलमा भएको महानिर्देशक ढुङ्गानाले बताए ।
‘दुई महिना सुन आयातनै नभएको र अन्य महीनामा आएको सुन समेत विक्री नभएपछि सत्य तथ्य बुझ्न व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरिएको हो,’ उनले भने । छलफलमा सम्लग्न शाक्यले सुन विक्री नभएका कारण बैङ्कमा सुन थन्किएको र व्यवसायीले साना साना परिमाण (१ सय ग्राम) मा पनि सुन किन्न पाउने व्यवस्था मिलाइ दिन माग गरे । विदेशबाट फर्कदा ल्याउन गरेको ५० ग्राम सुन आर्थिक विधेयक २०७३ ले ल्याउन नपाउने व्यवस्था गरेपछि साना व्यवसायीले सुन किन्न नसकेको शाक्यले बताए । हाल व्यवसायीले १ किलोभन्दा कम सुन खरिद गर्न पाउँदैेनन् ।