२० % घट्यो विप्रेषण आय, युवाले स्वदेशमा रोजगारी पाए कि विदेशमा रोजगारी गुमाए ?

<p>काठमाडौं, १५ साउन । पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारीमा विदेशिनेको सङ्ख्यासँगै विप्रेषण आय वृद्धिदर पनि घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७१/७२ को ११ महिनाको तुलनामा गत आव २०७२/७३ मा विदेशिनेको सङख्यामा २० दशमलव ६ प्रतिशतले कमी आएको हो । यसको सकारात्मक पाटो स्वदेशमै रोजगारी सिर्जना भयो र अब नेपालीहरु रोजगारीको खोजीमा विदेशिन [&hellip;]</p>

काठमाडौं, १५ साउन । पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारीमा विदेशिनेको सङ्ख्यासँगै विप्रेषण आय वृद्धिदर पनि घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७१/७२ को ११ महिनाको तुलनामा गत आव २०७२/७३ मा विदेशिनेको सङख्यामा २० दशमलव ६ प्रतिशतले कमी आएको हो । यसको सकारात्मक पाटो स्वदेशमै रोजगारी सिर्जना भयो र अब नेपालीहरु रोजगारीको खोजीमा विदेशिन छाडे भनेर बुझ्न सकिन्छ भने यसको अर्को पक्ष विदेशमा समेत नेपालीले रोजगारी पाउन सकेनन् भनी चिन्ता पनि गर्न सकिन्छ ।

विप्रेषण

गत आवमा अघिल्लो आवको तुलनामा नेपालीको आय वृद्धिदर पनि ३ दशमलव ८ प्रतिशतले  घटेको छ । अघिल्लो आवमा विप्रेषण आय वृद्धिदर १२ दशमलव ४ प्रतिशत रहेको थियो । वैदेशिक रोजगारीमा जानेको सङ्ख्यानै घटेपछि आय वृद्धिदर पनि कम त हुने नै भयो । यसमा यस्तो ठूलो चिन्ता र चासो गर्नु पर्ने देखिदैन । युवाहरुमा नयाँ आशा पलाएको अब स्वदेशमै केही गरेर बाच्न सकिन्छ भन्ने प्रेरणा मिलेको छ । लामो समयपछि मुलुकले संविधान पाएको छ । स्थानीय निकायको चुनाव भएमा देश राजनीतिक संक्रमणकाल सकिने र देशमा आर्थिक क्रान्ती हुने त्यो युवाकै हातमा भएको उनीहरुले बुझेका पनि हुन सक्छन् ।

विदेशमा खर्चिन समय नेपालमै सदुपयोग गर्न सके आफू र आफ्नो परिवारको भविष्य दीर्घकालीन रुपमा सुरक्षित हुने युवाले बुझे र उनीहरु विदेशमा जान चाहेनन् तथा आफै स्वरोजगार बन्न थाले । आय आर्जनका बाटाहरु आफ्नै गाउँ÷घर अर्थात शहरमा पाउन सम्भव भयो । युवाहरु आफ्नै स्रोत र साधनको परिचालन गर्नेतर्फ अग्रसर भए । त्यसो त विनाशकारी भुकम्पको कारण परिवार बस्ने सु्रक्षित बासस्थानको अभावका कारण पनि कम विदेशिएका हुन सक्छन् ।

विप्रेषण आय घट्नुको अर्को पक्ष वैदेशिक रोजगारीको मुख्य गन्तव्य खाडी मुलुकबाट कामदारको सङ्ख्यामा कटौती भएको पनि मान्न सकिन्छ । पछिल्लो समय कच्चा तेलको मूल्य घटेसँगै खाडी मुलुकबाट कामदारको सङ्ख्यामा पनि कटौती भएको तथ्याङ्कहरु वाहिर आइरहेका छन् । कारण जेसुकै भएपनि नेपालीको लागि विप्रेषण आय र विदेशिनको सङ्ख्या घट्नु भने सर्वत्र चिन्ताको विषय हो ।

यसको सोझो सम्बन्ध नेपालीको भान्छासँग जोडिएको छ । देश राजनीतक अस्थिरताको कारण झनझन आर्थिक दलदलमा फस्दैछ । देशमा भएका उद्योग, कल, कारखाना पूर्वाधार निर्माण (विद्युत्)को अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैनन् । देशमा परनिर्भरता बढ्दोे छ । यसरी सोच्दा भने विप्रेषण आय वुृद्धिदर तथा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्नु सोचनिय विषय बन्न सक्छ ।

अघिल्लो आवमा रू.५ खर्ब ५१ अर्ब विप्रेषण आय नेपाल भित्रिएकोमा गत आवको जेठसम्म रू.५ खर्ब ९८ अर्ब पुगेको छ । तर, पनि विभिन्न कारण यस्तो आय जुन अनुपातमा बढ्नु पर्ने हो भने हुन सकेको छ्रैन । नेपालको अर्थतन्त्रनै विप्रेषण आयले धानिएको माने पनि यो आय पूँजी निर्माणमा खर्च हुन सकेको छैन । आर्थिक सर्वेक्षण २०७२/७३ ले ९४ दशमलव ७४ प्रतिशत यस्तो रकम उपभोगमा खर्च हुने उल्लेख गरेको छ । यसो हुनुको प्रमुख कारण रोजगारीका लागि विदेशिने विशेषतः खाडीमुलुक जाने अधिकांशको आर्थिक अवस्था कमजोर भएकोले सो रकम उपभोगमै खर्चिएर सकिएको हो । यदि यस्तो रकम आधामात्र भएपनि उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सकिएको भए त्यसले पूँजी निर्माणका साथै देशभित्रै रोजगारी सिर्जना गर्न सहयोग गर्ने थियो । स्वदेशमै रोजगारी सिर्जना भएपछि रोजगारीको खोजिमा युवाहरु विदेश पलायत हुनुपर्ने थिएन ।

नेपालमा प्रशस्त रोजगारी सिर्जना गरी सबै नेपालीले स्वदेमै काम गर्न पाए भने विप्रेषण आय शुन्यनै हुने अवस्था पनि आउन सक्छ । यस्तो अवस्थालाई आउन दिने कि नदिने । विप्रेषण आयले अन्तरराष्ट्रिय भुक्तानमा सन्तुलन गरेको भन्दै नेपाल राष्ट्र बैङ्क तथा सरोकारवाला निकाय पनि खुशी छ । गरिबी घटाउन तथा भुक्तान सन्तुलन गर्न विप्रेषण आयको महत्वपूर्ण भुमिका पनि छ । यदि भुक्तान सन्तुलन भएकोमा गौरव मान्दै खुशी भएको भए यो गलत हो । नेपाली कामदार विदेशिनाले हुने दीर्घकालीन असरका वारेमा सोच्नु पर्ने देखिन्छ । रोजगारीका लागि विदेशिने भनेका उत्पादनमूलक जनशक्ति हुन् । युवा अवस्था तथा आफ्नो करियर बनाउने अवस्था विदेशी भुमिमा बिताउने र त्यसबाट भएको आय आर्जन समेत भोलिका लागि नबच्ने हो भने त्यो कमाइको के अर्थ रह्यो र

युवा अवस्था भनेको आज आर्जन गरेर भविष्यका लागि जगेर्ना गर्ने महत्वपूर्ण समय हो । त्यतिमात्र कहाँ होर विदेशिनेका परिवारमा विप्रेषण आयकै कारण विखण्डन आएको छ । पतिपत्नीकोवीचको सम्बन्ध तथा छोराछोरी तथा आमाबाबुवीचको आत्मियतालाई यसले विचलन ल्याएको देखिन्छ ।

सो विप्रेषण आयभन्दा बढी रकम यहि उत्पादन हुने वस्तु एवम् सेवा निर्यात गरेर आय आर्जन गर्न सकिन्छ । सरकारको चिन्ता तथा चासो विषय त्यो हुनुपर्दछ । आयातमात्र प्रतिस्थापनगर्न सकेपनि नेपालले ठूलो फड्को मार्ने थियो । देशले त्यतापट्टि सोच्नु पर्ने हुन्छ । विप्रेषण आय घटेको चिन्ता गर्नुभन्दा देशमै रोजगारी सिर्जना गरी दीर्घकालीन रुपमा देश र जनतालाई समृद्ध बनाउनु आजको आवश्यकता हो । सरकारको ध्यान पनि त्यतितिर जानु पर्छ । यो आयले हाम्रो अर्थतन्त्रलाई सधैका लागि मजबुद बनाउन सक्दैन बलियो अर्थतन्त्रका लागि देशभित्रै रोजगारी सिर्जना गरिनु पर्छ ।

Share News