
शुक्रबार मर्ज सम्बन्धी विस्तृत सम्झौतापछि हात मिलाउँदै दुई संस्थाका अध्यक्ष
काठमाडौं, १५ साउन । सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स (आइएलएफसी) फाइनान्सबीच मर्ज हुने पक्का भएको छ । दुई संस्थाबीच मर्ज गर्नेबारे गत माग ११ गते सैद्धान्तिक सहमति भएपनि बीचमा समस्या आएकोले मर्ज प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
सैद्धान्तिक सहमति गर्दा सिभिल बैंकको सेयर भ्यालु प्रतिकित्ता १०० रुपैयाँ र आईएलएफसीको प्रतिकित्ता ८० रुपैयाँ मानेर स्वाप रेसियो कायम गर्ने भनिएको थियो । डीडीए रिपोर्टले आईएलएफसीको सेयर भ्यालु उच्च देखाएपछि मर्ज प्रक्रिया जटिल बनेको थियो । तर दुबै संस्थाको लागि मर्ज अनिवार्य भएकोले शुक्रबार अन्तिम सम्झौता गरेका छन् ।
स्रोतका अनुसार सिभिल बैंकको सेयर प्रतिकित्ता १०० र आइएलएफसीको सेयर प्रतिकित्ता ८३ रुपैयाँ हुनेछ । उक्त स्वाप रेसियो अनुसार १०० कित्ता सेयर हुने आईएलएफसीका लगानीकर्ताले मर्जपछि सिभिल बैंकको ८३ कित्ता सेयर पाउने छन् ।
डीडीए रिपोर्टले सिभिल बैंकको भन्दा आईएलएफसीको सेयर मूल्य बढी देखाएपछि सिभिल बैंकको ब्राण्ड भ्यालु करिव ५० करोड रुपैयाँ राखेर स्वाप रेसियो मिलान गरिएको स्रोतले बतायो ।
मर्जपछि बैंकको नाम सिभिल बैंक नै राखिनेछ । मर्जपछि साधारणसभा नभएसम्म सिभिल बैंकको सञ्चालक समितिमा यथावत रहने छ । प्रमुख कार्यकारी अधिकृत पनि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन रहनेछन् ।
राष्ट्र बैंकबाट स्वीकृति पाएमा कात्तिक १ गतेदेखि एकिकृत कारोबार गर्ने र त्यसपछि साधारणसभा गरेर नयाँ सञ्चालक समिति चयन गर्ने सहमति भएको छ ।

एकिकृत कारोबारपछि सिभिल बैंकको सेयर पु्ँजी ५ अर्ब ९ करोड रुपैयाँ हुनेछ । निक्षेप करिव ३२ अर्ब र कर्जा करिव २८ अर्ब हुनेछ ।
शुक्रबार मर्जर सम्बन्धी विस्तृत सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आइएलएफसी फाइनान्सका अध्यक्ष अञ्जय बहादुर शाहले हस्ताक्षर गरेका छन् ।