आवास पुर्ननिर्माणको लागि करिव २० अर्ब निकास, कुन जिल्लामा कति ?

<p>काठमाडौं, ११ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई करिव २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरेको छ । प्राधिकरणका अनुसार ४ लाख ७४ हजार [&hellip;]</p>

काठमाडौं, ११ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई करिव २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरेको छ ।

प्राधिकरणका अनुसार ४ लाख ७४ हजार ४ सय ४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ । अनुदान रकम व्यवस्थापन गर्नका लागि दातृ निकाय र नेपाल सरकार गरी १९ अर्ब ३३ करोड ९ हजार १ सय ५० रुपैयाँ खर्च गर्न सकिनेछ । बाँकी ४ अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थाहरुमार्फत उपलब्ध गराउने व्यवस्था रहेको छ ।

प्राधिकरणका अनुसार रसुवाको लागि ४१ करोड ९३ लाख, काभ्रेको लागि ३ अर्ब २०करोड ११ लाख ५० हजार, दोलखाको लागि ३ अर्ब ६६ करोड ६३ लाख ५० हजार, रामेछापको लागि २ अर्ब ७ करोड १६ लाख ५० हजार रुपैयाँ निकासा भएको छ ।

गोरखाको ५ अर्ब २ करोड २ लाख, सिन्धुपाल्चोकको लागि ९५करोड १७ लाख, ओखलढुंगाको लागि ९२ करोड ९ लाख ५० हजार, सिन्धुली को लागि ६ अर्ब ६० करोड ९७ लाख ५० हजार, ललितपुरको लागि ७१ लाख ५० हजार र मकवानपुरको लागि १ अर्ब ४७ करोड ९ लाख ५० हजार गरी १९ अर्ब ३३ करोड ९१ लाख ५० हजार रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ ।

उपत्यका बाहिरका भूकम्प अतिप्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकामा गरी ५ लाख ३३ हजार १ सय ६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको छ । त्यस मध्ये ३७ हजार ७२ घरधनीको यस अघि पहिलो किस्ताको अनुदान रकम १ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ ।

चालू आर्थिक वर्षमा पुनर्निर्माणका कार्यहरु अघि बढाउनका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिव ८४ अर्ब रुपैयाँको बजेट अख्तियारी प्रदान गरिसकेको छ ।

कूल अनुदान पाउन अनुदान सूचीमा परेका मध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरकारी संस्थाहरुसँग सम्झौता भइसकेको छ । उनीहरुले प्राधिकरणबाट तोकिएका बैंकहरु मार्फत नेपाल सरकारले उपलब्ध गराए सरह पहिलो किस्ता वापत रु ५० हजार, दोस्रो किस्ता बापत रु ८० हजार र तेस्रो किस्ता वापत रु ७० हजार उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । उल्लेखित अख्तियारीमा गैरसरकारी संस्थामार्फत उपलब्ध गराइने रकम समावेश गरिएको छैन ।

प्राधिकरणले उल्लेखित अनुसारको अनुदान रकम उपलब्ध गराउनका लागि यस अघि क, ख र ग वर्गका गरी ५९ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग सम्झौता गरिसकेको छ ।

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सर्भेक्षण सुरु भएको छ भने भूकम्प प्रभावित १७ जिल्लामा सर्भेक्षण गर्ने तयारी भइरहेको छ । सर्भेक्षणपछि तथ्यांक विश्लेषण गरी अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गरेपछि अनुदान रकम उपलब्ध गराइने प्राधिकरणका प्रबक्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।

Share News