काठमाडौं, ११ साउन । निवृत्तिभरण व्यवस्थापन कार्यालयले सेवा निवृत्त (अवकाश पाएका) कर्मचारीको अभिलेख अद्यावधिक गर्न नसक्दा दिनु पर्नेभन्दा १ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको पाईएको छ । कार्यालयले सेवानिवृत्त कर्मचारीको अभिलेख अद्यावधिक गर्ने क्रममा बढी भुक्तान भएको पत्ता लागेका कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । ‘सेवानिवृत्तले पाउनेभन्दा बढी रकम भुक्तान भएका पेन्सनर हजारौंको सङ्ख्यामा छन्,’ उनले भने, ‘यो सङ्ख्या र रकम अझै बढ्न सक्छ ।’
कार्यालयले सेवानिवृत्त कर्मचारीको तथ्याङ्क प्रशोधन तथा व्यवस्थापन गर्ने क्रममा सो रकम बढी भुक्तान भएको फेला पारेको हो । ‘सेवानिवृत्त कर्मचारी एवम् उनीहरुसँग आश्रित परिवारलाई भुक्तान गर्नुपर्ने रकमभन्दा बढी भुक्तान भएको हो,’ पौडेलले थपे ‘बैङ्कले भुक्तान गरेको रकम र पाउनुपर्ने पट्टामा फरक देखिएको छ ।’
बढी रकम भुक्तान भएका सेवानिवृत्तको पेन्सनहरुको पेन्सन हाललाई रोक्का गरी अगाडि बढी भुक्तान भएको रकम असुल उपर भएपछिमात्र उनीलायई पेन्सनको पुनः निरन्तरता दिइने कार्यालयले बताइएको छ । कार्यालयका अनुसार सेवानिवृत्त कर्मचारीको हिसाब समय समयमा जाँच नहुँदा बढी रकम भुक्तान हुन गएको हो ।
उपत्यकामा मात्र १० हजार सेवानिवृत्त कर्मचारीको हिसाब मिलेको देखिदैन । कार्यालयले अनलाइन प्रणालीमार्पmत पेन्सन उपलब्ध गराउँदा सो अभिलेख नमिलेको पत्ता लागेको हो । गत असोजदेखि कार्यालयले उपत्यकामा अनलाइन प्रणाली शुरू गरेको हो भने देशभरिकै तथ्याङ्क अनलाइनमार्फत अद्यावधि गर्ने काम अन्तिम चरणमा पुगेको पौडेलले बताए ।
कार्यालयसँग कहिलेदेखि बढी रकम भुक्तान भएको स्पष्ट अभिलेख छैन । सेवानिवृत्तहरुमध्ये कतिपयको त मृत्यु भइसकेको पनि हुनसक्ने कार्यालयको भनाइ छ । यदि यस्तै हो भने राज्य कोषको सो रकम डुब्ने निश्चित छ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कार्यालयले पेन्सन उपलब्ध गराउँदै आएको छ ।
गत आवमै देशभरि पेन्सन अनलाइन प्रणालीमा लैजाने कार्यालयको योजना भएपनि केही ढिला भएपनि साउनसम्म सकिने कार्यालयले बताएको छ । सेवानिवृत्त कर्मचारीमध्ये २५ प्रतिशतलाई काठमाडौंबाट पेन्सन भुक्तान हुने गरेको छ । हाल नेपालमा २ लाख १३ हजार सेवानिवृत्त कर्मचारी रहेका छन् ।
सरकारले चालू आव २०७३/७४ मा सेवानिवृत्त कर्मचारीका लागि रू. ४२ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । सो रकममध्ये रू. ३५ अर्ब सेवानिवृत्त निजामती कर्मचारी, सेना, प्रहरीको लागि हो भने रू. ७ अर्ब १० करोड शिक्षकका लागि भएको कार्यालयले जानकारी दिएको छ । गत आव २०७२/७३ मा सरकारले यसका लागि रू. ४१ अर्ब ६ करोड विनियोजन गरेको छ । सो रकममध्ये रू. ३५ अर्ब निजामती कर्मचारी, सेना तथा प्रहरीका लागि हो भने बाँकी रकम शिक्षकका लागि भएको कार्यालयले बताएको छ ।
सरकारले एकातिर सेवानिवृत्त कर्मचारीका लागि पेन्सन फण्डको व्यवस्था गर्न नसक्दा विकास निर्माणमा खर्चिनुपर्ने ठूलो रकम पेन्सनकै लागि खर्च भइरहेको छ भने अर्कोतिर दिनुपर्नेभन्दा बढी रकम भुक्तान हुनुले निवृत्तिभरण वितरणमा चरम लापरबाही देखिएको छ ।