सेटलमेन्ट ग्यारेण्टी फण्ड अन्तिम चरणमा, सेयर राफसाफको जोखिम कम हुने

<p>काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर राफसाफमा वृद्धि हुँदै गएको जोखिम कम गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाल धितो पत्र बोर्डको निर्देशन अनुसार नेप्सेले सेटलमेन्ट ग्यारेण्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा निर्माणलाई अन्तिम चरणमा पुर्याएको हो । ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा अन्तिम चरणमा पुगिसकेको छ, कति [&hellip;]</p>

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर राफसाफमा वृद्धि हुँदै गएको जोखिम कम गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाल धितो पत्र बोर्डको निर्देशन अनुसार नेप्सेले सेटलमेन्ट ग्यारेण्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा निर्माणलाई अन्तिम चरणमा पुर्याएको हो ।

‘सेटलमेन्ट ग्यारेन्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा अन्तिम चरणमा पुगिसकेको छ, कति रकमको कोष बनाउने र कसले कति लगानी गर्ने भन्नेबारे अन्तिम चरणको छलफल भैरहेको छ’, नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजसँग भने ।

धितो पत्र बोर्डले ‘हाल बजारमा दैनिक २ अर्बको कारोबार हुन लागीसकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिमसमेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्डको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्र बोर्डमा पेश गर्ने ।’ निर्देशन दिएको थियो ।

‘सेटलमेन्ट ग्यारेन्टी फण्डले राफसाफको जोखिमलाई कम गर्छ, जति सकेको चाँडो फण्ड कार्यान्वयनमा आउनु पर्छ’, सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले भने ।

के हो सेटलमेन्ट ग्यारेन्टी फण्ड ?
बजारमा सेयर करोबार भएको तीन दिन भित्र खरिद कर्ताले पैसा तिरिसक्नु पर्ने व्यवस्था छ । त्यसको चौथो दिन ब्रोकर कम्पनीले नेप्सेलाई पैसा बुझाउँछ । तर कहिले काँही खरिद कर्ताले तेश्रो दिनसम्म पनि पैसा बुझाउँदैनन् । तर ब्रोकरले भने चौथो दिन भित्र पैसा बुझाउनै पर्ने हुन्छ । यस्तो अवस्थामा समग्र सेयर बजार नै जोखिममा जान्छ । यसकै लागि सेटलमेन्ट ग्यारेन्टी फण्डको अवधारणा अघि सारिएको हो ।

खरिद कर्ताले तेश्रो दिनसम्म पैसा बुझाउन सकेन भने ब्रोकरले सेटलमेन्ट ग्यारेण्टी फण्डबाट रकम सापटी लिएर नेप्सेलाई बुझाउँछ । जब खरिद कर्ताले रकम बुझाउँछ तब उसँग केहि रकम जरिवाना गराएर कोषको रकम फिर्ता गरिन्छ । सेयर बजारको राफसाफमा हुने जोखिमलाई न्युन गर्न धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले यस्तो फण्ड ल्याउन लागेको हो ।

कत्रो बन्छ फण्ड ? कस्को हिस्सा कति ?
फण्डमा नेप्सेले केहि रकम राख्ने र केहि ब्रोकर कम्पनीबाट उठाउने मोटामोटी सहमति बनेको छ । तर ठ्याक्कै कसले कति रकम योगदान गर्ने भन्ने निचोड निस्केको छैन् । ‘नेप्से र ब्रोकरले मिलेर लगानी गर्ने भन्ने निष्कर्ष छ तर कसले कति रकम योगदान गर्न भन्ने एकिन भएको छैन्’ नेप्सेका सहप्रवक्ता पराजुलीले भने । अहिलेसम्म भने सेटलमेन्टमा देखिँदै आएको जोखिम ब्रोकर कम्पनी स्वंयले व्यहोर्दै आएका छन् ।

हाल नेप्सेले प्रत्येक ब्रोकर कम्पनीसँग पाँच लाख रुपैंयाँ धरौटीका रुपमा असुल्दै आएको छ ।

Share News