काठमाडौं, ४ साउन । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललिपुर तथा भक्तपुरमा मङ्गबारदेखि भूकम्प पीडितको लगत सङ्कलन शुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले अन्य भूकम्पप्रभावित जिल्लाजस्तै उपत्यकामा पनि व्यक्तिगत आवास पुनर्निर्माणका लागि लगत सङ्कलनका लागि घरधुरी सर्वेक्षण शुरू गरेको हो ।
‘अन्य जिल्लामा भन्दा उपत्यकामा गरिने सर्वेक्षण फरक छ,’ विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले भने, ‘यहाँ भूकम्पप्रभावित घर अर्थात् सरकारले भूकम्पपीडित भनी रातो कार्ड प्रदान गरेको घरको मात्र लगत सङ्कलन गरिन्छ ।’ अन्य जिल्लाका सबै घरधुरीमा गएर भूकम्पपीडितको लगत सङ्कलन गरिएको थियो । भूकम्पका बेला तत्काल राहत वितरणका लागि विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) सर्वेक्षणमा उपत्यकामा सवा १ लाख भूकम्पपीडित रहेको तथ्याङ्क छ ।
पछिल्लो समय आएको गुनासोको आधारमा सो सङ्ख्या बढेर १ लाख ५० हजार पुग्न सक्ने विभागको अनुमान छ । विभागले असार २५ गतेबाट असार महीनाभरि लगत सङकलनमा खटिने ५ सय सामाजिक परिचालक, ५ सय इञ्जिनीयर र ५० जना सुपरभाइजरलाई तालीम प्रदान गरेको थियो । लगत सङ्कलन सकिएपछि दशैं अघि नै उपत्यकाका भूकम्प पीडितलाई अनुदान वितरण गरिने राष्ट्रिय पुनर्निमाण प्राधिकरणले जानकारी दिएको छ । भूकम्पबाट अतिप्रभावित अन्य ११ जिल्लामा भने यसअघि नै विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणको कार्य गरिरहेको छ ।