काठमाडौं, २७ असार । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७३/७४ मा पुँजी बजारलाई अघि बढाउन भन्दै एक दर्जन योजना अघि सारेको छ । बोर्डले सोमबार पुँजी बजारका सरोकारवाला निकायहरुहरुलाई साक्षी राख्दै आगामी आर्थिक वर्षको योजना सार्वजनि गरेको हो ।
बोर्डका निर्देशक निरज गीरिले कार्यपत्रका रुपमा अघि सारेका योजनाहरुमा सेयर बजारका लगानी कर्ता, विकास बैंक संघका अध्यक्ष, नेप्सेका महाप्रबन्धक, नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका प्रतिनिधीहरुले सुझाव दिएका थिए ।
बोर्डले आफ्नै संस्थागत विकास, नियमन र अनुगमनको बढोत्तरी गर्ने, सर्वसाधारणको पुँजी बजारमा पहुँच अभिवृद्धि गराउने, नेपाल स्टक एक्सचेञ्ज र सिडिएसको संस्थागत पुनसंरचना(निजीकरण), प्राथमिक तथा दोश्रो बजार निष्काशनको कारोबार लागत घटाउने लगायतका योजना अघि सारेको छ ।
त्यस्तै, रियल सेक्टरलाई सूचिकृत गराउने, पुँजी बजारमा संस्थागत लगानी कर्ता(नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष)लाई भित्र्याउने, ओटिसी मार्केटलाई थप व्यवस्थित गर्ने, सेटलमेन्ट ग्यारेण्टी फण्डको कार्यान्वयन, धितो पत्र तथ्यांक व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्ने, कम्पनीहरु सूचिकृत हुने र बाहिरिने प्रक्रियालाई सहज बनाउने योजना बोर्डले अघि सारेको हो । त्यस बाहेक सूचिकृत जलविद्युत कम्पनीहरुले निर्माण गरेका जलविद्युत आयोजनाको लाइसेन्स ३० बर्षपछि सकिने व्यवस्थाका बारेमा पनि आगामी आर्थिक वर्षमा बहस गर्ने जनाएको छ ।
कार्यक्रममा विकास बैंक एसोसियनका अध्यक्ष कृष्णराज लामिछानेले मर्जरमा गएका बैंकहरुको सेयर कारोबार रोक्नु नहुने बताएका थिए । उनले मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार छ सात महिना रोक्का गर्न नहुने बताउँदै त्यसलाई सक्दा खारेज गर्नुपर्ने नभएपनि समय घटाउनु पर्नेमा धारणा राखेका थिए ।
इन्भेष्टर्स फोरमका अध्यक्ष आत्मराम घिमिरेले इन्भेष्टर्स आइडी कार्ड कार्यान्वयन गर्नु पर्ने, ब्रोकर कमिसन घटाउनु पर्ने, रियल सेक्टरलाई पुँजी बजारमा भित्र्याउनु पर्ने तथा एनआरएन प्रवेशलाई सहज बनाउनु पर्नेमा जोड दिए । नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सिताराम थपलियाले एनआरएनलाई लगानीको व्यवस्था गर्न कानुन बाधक रहेको बताएका थिए । महाप्रबन्धक थपलियाले कमजोर कानुनी व्यवस्थाका कारण इनसाइडर ट्रेडिङ रोक्न नसकिएको बताए । त्यस्तै तत्कालै नेप्सेलाई निजिकरण गर्नुपर्ने थपलियाको धारणा थियो । उनले इन्भेष्टर्स आइडी बनाउन नेप्से तयार रहेको समेत बताएका थिए ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बलियो इच्छाशक्ति भएमा धेरै काम गर्न सकिने बताउँदै आफु काम गर्ने योजना सहित बोर्डमा आएको बताए । उनले दक्षिण एसियामै नेपालको पुँजी बजार कमजोर रहेको बताउँदै त्यसलाई माथी उठाउने दायीत्व सबै मिलेर पुरा गर्नुपर्ने धारणा राखेका थिए ।