काठमाडौं, २३ असार । गत बैशाख १२ गतेको भूकम्पका कारण घरबार गुमाएका भूकम्प पीडितहरुको संख्या बढ्ने भएको छ । सरकारले असली भूकम्प पीडितको वास्तविक संख्या निकाल्ने भन्दै गरेको घरधुरी सर्वेक्षणले घरबार गुमाउने भूकम्प पीडितहरुको संख्या निकै बढि हुने देखाएको हो ।

सुरुमा गरिएको सर्वेक्षणले ४ लाख ९८ हजार ८ सय ५२ परिवारले घरबार गुमाएको रिपोर्ट तयार भएको थियो । ती भूकम्प पीडितलाई सरकारले रातो कार्ड उपलब्ध गराएको थियो । तर त्यसमा नक्कली भूकम्प पीडितको संख्या धेरै रहेको भन्दै अघिल्लो सरकारले पुनः घरधुरी सर्वेक्षणका लागि गाउँ गाउँमा इञ्जिनियर घटाएको थियो । तर त्यसरी परिचालित इञ्जिनियरले संकलन गरेको तथ्यांकले पुर्णरुपले घर क्षति भएका भूकम्प पीडितहरुको संख्या निकै बढि रहेको देखाएको हो ।
पहिले घरपुर्णरुपले क्षति भएका देशभरका पीडित परिवार संख्या ४ लाख ९८ हजार ८ सय ५२ मात्रै थियो । तर अहिले ११ जिल्लामा पुर्णरुपले घर क्षति भएका भूकम्प पीडितको संख्या मात्रै पाँच लाख ३३ हजार ४ सय ५४ घरधनी पुगिसकेका छन् । त्यसमा पनि मेरो घर पुर्णरुपले क्षति भएको हो भन्दै गुनासो फारम भर्नेहरुको संख्या एक ९५ हजार नाघिसकेको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको घरधुरी सर्वेक्षण गर्नै बाँकी छ । भूकम्प प्रभावित अन्य २० जिल्लाको तथ्यांक अझै थपिने नै छ । पुर्णरुपले घर क्षति ग्रस्त भएका देशभरका भूकम्प पीडितको पुरानो संख्या भन्दा ११ जिल्लाबाटै प्राप्त पछिल्लो संख्या ३४ हजार ६ सय दुई घरधुरीले बढि भैसकेको छ । पुननिर्माण प्राधिकरणले ११ जिल्लाका यी पीडितहरुको नामावली प्रकाशित गर्दै घर निर्माणका लागि २ लाख पाउनेहरुका रुपमा पहिाचन गरिसकेको छ ।
तीमध्ये असार २२ गते बेलुकासम्म २ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता समेत भइसकेको छ । अनुदान सम्झौता गरेकामध्ये पनि २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार जम्मा भइसकेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
‘पुर्ण रुपले घर क्षतिग्रस्त भएका भूकम्प पीडितहरुको संख्या बढ्ने देखियो, देशभरको पुरानो तथ्यांक भन्दा अहिले ११ जील्लाको तथ्यांक ३३ हजारले बढि आइसकेको छ, उपत्यकाका तीन जिल्ला र अन्य प्रभावित जिल्लाको संख्या थपिँदा त्यो निकै बढ्ने देखिन्छ’, प्राधिकरणका प्रवक्ता थपलियाले भने । पुर्णरुपले घर भत्किएका भूकम्प पीडितहरुको संख्या २० प्रतिशत भन्दा बढिले वृद्धि हुने अनुमान गरिएको छ ।