काठमाडौं, २० असार । नेपालको पेट्रोलियम बजारमा एकाधिकार जमाएको इन्डियन आयल कर्पाेरेशनसँगको इन्धन खरिद सम्झौताको म्याद आगामी मार्च १७ तारिखका दिन समाप्त हुँदैछ । नेपाल आयल निगमले प्रत्येक पाँच पाँच बर्षमा आइओसीसँग इन्धन खरिद सम्झौता गर्दै आएको थियो । आगामी मार्चमा १७ देखि इन्धन खरिद सम्झौताको म्याद सकिने भएपछि नयाँ सम्झौताका लागि आइओसीको टोली काठमाडौं आईपुगेको छ ।

‘इन्धन खरिद सम्झौता नविकरणका लागि आइओसीको टोली एक हप्तादेखि काठमाडौंमा छ’, नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले भने । मधेश आन्दोलनको बहानामा आइओसीले इन्धन कटौती गरेपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव भएको थियो । यसपाली हुने नयाँ सम्झौतामा त्यस्ता कमजोरीलाई समेत सच्याउने प्रयास गरिने उनले बताए । ‘पुरानो सम्झौतामा कहाँ कहाँ समस्या छ, यसपाली संसोधन हुन्छ, जस्तो सुकै अवस्थामा पनि इन्धन आयातमा प्रभाव नपर्नेगरि आइओसीसँग सम्झौता गर्छाै’, निगम प्रमुख खड्काले व्यवस्थापिका संसदका उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा भने ।
हाल निगमको टोलीले आइओसीको टोलीसँग इन्धन खरिद सम्झौताको नयाँ मस्यौदाबारे छलफल गरिरहेको छ ।‘मार्चमा सम्झौताको म्याद सकिने भएकाले नयाँ सम्झौताको मस्यौदा निर्माणको प्रारम्भिक छलफल चलिरहेको छ’, निगमका प्रवक्ता मुकुन्द न्यौपानेले विकासन्युजसँग भने ।
पारादिप डिपोबाट इन्धन
यसैबिच नेपाल आयल निगमले निकट भविष्यमै भारतको पारादिप डिपोबाट इन्धन आयात गर्ने भएको छ । नेपाललाई नियमित इन्धन उपलब्ध गराउँदै आएका डिपोहरुको सो भन्दा बढि इन्धन दिने क्षमता नभएकाले थप इन्धन पारादिप डिपोबाट आयात गर्न लागिएको हो ।
आपुर्ति मन्त्री गणेशमान पुनले पनि पारादिप डिपोबाट इन्धन ल्याएर पनि नेपालको आपुर्ति व्यवस्थालाई सहज बनाउन लागिएको बताए । हाल नेपाललाई इन्धन दिईरहेका डिपोहरुले सो भन्दा बढि मात्रामा इन्धन दिन नसक्ने बताएपछि पारादिप डिपोबाट ल्याउन लागिएको हो । सो डिपोबाट इन्धन ल्याउन थालेपछि थप भण्डारण गृह निर्माण गरेर ९० दिनलाई पुग्ने इन्धन सञ्चित गरिने उनले बताए ।
निगमका प्रमुख खड्काले पारादिपबाट इन्धन ल्याउँदा उपभोक्तालाई थप मुल्यभार नपार्ने जानकारी गराएका थिए ।