काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले आज (असार १० गते) देखि एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गरेकाे हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेकाे छ ।
बन्दमुखी प्रकृतिको योजना रहेको उक्त फण्डको अवधि ७ वर्षको रहेको छ । उक्त फण्डमा इच्छुकले न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । उनीहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २४ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ ।
यस योजनाको अधिकांश रकम दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये उत्कृष्ट ३० वटा कम्पनीमा मात्र लगानी गरिने छ । समग्र नेप्सेको ग्रोथ भन्दा यस योजनाको न्याभको ग्रोथ बढी हुने हुँदा योजनाको इकाईधनीहरुलाई नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिने क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेले बताएका छन् ।
थप सामाग्री
‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डले नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिन्छः मनिष घिमिरे