काठमाडाैं । पछिल्लाे १० महिनामा नेप्से परिसूचक ९० प्रतिशतले बढेकाे छ । गत २०७७ असार मसान्तमा १३६२.४ बिन्दुमा पुगेकाे नेप्से परिसूचक २०७८ काे बैशाख मसान्तमा २६८४.१ बिन्दुमा पुगेको छ । जुन २०७७ बैशाख मसान्तमा १२०१.६ बिन्दुमा रहेको थियो ।
२०७८ बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंककाे तथ्यांकले जनाएकाे छ ।
२०७८ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ बैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५६० अर्ब ८८ करोड रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को दश महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रूपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड रूपैयाँ बराबरको साधारण शेयर, ४३ अर्ब २० करोड रूपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रूपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड रूपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रूपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १७ अर्ब ५४ करोड रूपैयाँ बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड रूपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब ५० करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड रूपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोड रूपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।